टर्की भूकम्पमा मृत्यु हुनेको संख्या आठ हजारनजिक

माघ २५, २०७९ |कान्तिपुर टीभी संवाददाता
टर्की भूकम्पमा मृत्यु हुनेको संख्या आठ हजारनजिक

काठमाडौं । टर्की र सिरियामा विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या आठ हजारनजिक पुगेको छ ।

हालसम्म दुई मुलुकमा गरी सात हजार आठ सय मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

भूकम्पको केन्द्रबिन्दु रहेको टर्कीमा सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति भएको छ । टर्कीमा मात्रै हालसम्म ५ हजार ८९४ जनाको मृत्यु भएको छ । यस्तै छिमेकी मुलुक सिरियामा एक हजार ९३२ जनाको मृत्यु भएको छ ।

गत सोमबार बिहान ४:१७ बजे ७ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

भूकम्पले सयौँ भवनहरु ध्वस्त भएका छन् । अस्पताल, विद्यालय तथा आवासीय क्षेत्रहरुमा ठूलो क्षति पुगेको छ । हजारौँ मानिसहरु घाइते भएका छन् ।

टर्कीका उपराष्ट्रपति फुएट ओकतायले भूकम्पको केन्द्रबिन्दु रहेको काहरामान्मारस प्रान्तमा ३४ हजार ८१० जना घाइते भएका जानकारी दिएका छन् । भूकम्पले ५ हजार ७७५ भवन ध्वस्त भएका छन् भने ८ हजारभन्दा बढी मानिसलाई भग्नावशेषबाट उद्धार गरिएको उनले बताए ।

टर्की र उत्तरी सिरियामा हजारौँ मानिस घरबारविहीन भएका छन् । दातृ निकायहरुले उत्तरपश्चिमी सिरियामा चालिस लाखभन्दा बढी मानिस मानवीय सहायतामा निर्भर रहनु चिन्ताजनक रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघले यो विपत्ति हुनु पूर्व गृह युद्धले ७० प्रतिशत सिरियाली जनता मानवीय सहायताको लागि आश्रित रहेको बताएको छ । यस विपत्तिले थप संकट निम्त्याएको राष्ट्रसंघको भनाइ छ । भूकम्प प्रभावित क्षेत्रमा इन्धन र विद्युत आपूर्ति बन्द भएको छ ।

यसैबीच, टर्कीस्थित गैरआवासीय नेपाली संघका महासचिव विनोद पौडेलका अनुसार भूकम्प प्रभावित क्षेत्रमा १४ विद्यार्थी, ४ जना घरेलु कामदारसहित २३ नेपाली सम्पर्कमा आएका छन् ।

घरेलु कामदारका रूपमा कार्यरत दुई नेपाली महिला सम्पर्कमा नआएकाले खोजी जारी रहेको पौडेलले जानकारी दिए। उनीहरू भूकम्पअघि साथीहरूसँग सम्पर्कमा थिए। 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.