टर्की-सिरिया भूकम्प : एकातिर भूकम्पको त्रास, अर्कोतिर अत्यधिक चिसो

माघ २४, २०७९ |कान्तिपुर टीभी संवाददाता
टर्की-सिरिया भूकम्प : एकातिर भूकम्पको त्रास, अर्कोतिर अत्यधिक चिसो

अंकरा । टर्कीको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५ हजार नाघेको पुगेको छ । भूकम्पका कारण टर्कीमा ३ हजार ५ सय र सिरियामा १६ सय जनाको मृत्यु भएको हो । घाइते हुनेको संख्या दुवै मुलुकमा गरी २४ हजार पुगेको छ भने हजारौं घरमा क्षति पुगेको छ । टर्कीका राष्ट्रपति रेसेप तायिप इर्दोगानले बढी प्रभावित १० प्रान्तमा ३ महिने स‌ंकटकाल घोषणा गरेका छन् ।

सिरियाको उत्तर पश्चिम क्षेत्रमा सरकारी तथा विद्रोहीले खसालेका बमका आवाजले मध्यरातमा बिउँझनु सामान्यजस्तै भइसकेको थियो । सोमबार बिहान झिसमिसेमै एक्कासि भवन हल्लिएपछि ३६ वर्षीय इस्माइल अलाबदुल्लाहले सोचे-सरकारी सेनाले कहाँ ब्यारेल बम आक्रमण गर्‍यो ? झटपट उठेर उनले आफ्ना छोरा च्यापे र सुरक्षित हुने उपायको खोजी गर्न थाले । 

तर, यो सरकारी आक्रमण थिएन । १० वर्षदेखि लगातार विद्रोही तथा सरकारी सेनाको लडाइँका कारण सिरियाको उत्तरपश्चिमी क्षेत्र तहसनहस भइसकेको छ । नागरिकका घरदेखि विद्यालय, अस्पतालजस्ता संरचना ध्वस्त भएका छन् । अहिले त्यही क्षेत्रमा प्रकृतिको अर्को प्रहार भएको छ । स्थानीय समयअनुसार आइतबार बिहान टर्की केन्द्रबिन्दु भएर गएको ८० वर्षयताकै ठूलो ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्पका कारण टर्की र सिरिया दुवैतिर निकै क्षति भएको छ । 

टर्कीमा मात्रै ११ हजार घर भत्किएका छन् भने २० हजारभन्दा बढी घाइते भएका छन् ।

सबैभन्दा बढी समस्या सिरियाको विद्रोहीनियन्त्रित इडलिव र एलेप्पोको बाहिरी क्षेत्रमा छ । बाँकी सरकार नियन्त्रित क्षेत्रमा उद्धारका लागि कुनै समस्या नभए पनि उक्त क्षेत्रमा न आपत्कालीन सेवा छ, न उद्धारका लागि आवश्यक सामग्री नै । सोही कारण भत्केका संरचनामा पुरिएका मानिसले मृत्युवरण गरिरहेका छन् । उक्त क्षेत्रमा अहिले अन्तर्राष्ट्रिय उद्धार टोलीका केही सदस्य मात्र पुगेका छन् । 

टर्कीमा मात्रै ११ हजार घर भत्किएका छन् भने २० हजारभन्दा बढी घाइते भएका छन् । विश्व स्वास्थ्य संगठनले २० हजारभन्दा बढीको मृत्यु हुनसक्ने आकलन गरेको छ । टर्कीमा १० वटा प्रान्तमा बढी क्षति पुगेको छ । टर्की सरकारले १३ हजार उद्धार कार्यकर्ता तथा स्वयंसेवक प्रभावित क्षेत्रमा खटाइसकेको छ ।

दृश्यमा टर्की-सिरिया भूकम्प : ५ हजारको गयो ज्यान

विश्वभरबाट उद्धार सामग्री तथा भौतिक एवं आर्थिक सहयोग पुग्ने क्रम जारी छ । विभिन्न अन्तर्राष्ट्रिय संस्था तथा मुलुकका २५ हजारभन्दा बढी उद्धारकर्मीहरू प्रभावित क्षेत्रमा खटिएका छन् । यसका लागि १० वटा पानीजहाज र ५४ वटा विमान प्रयोगमा ल्याइएका छन् । टर्की सरकारले ३ लाख ब्ल्यांकेट र साढे ४१ हजार पारिवारिक टेन्ट वितरण गरेको छ । 

रुसले ३ सयभन्दा बढी सैनिक संलग्न १० वटा युनिट रुसमा पठाएको छ । तर, खराब मौसम उद्धारक र विस्थापितहरूका लागि चुनौती बनेको छ । यस क्षेत्रमा हालै मात्र भारी हिमपात भएको थियो भने तापक्रम शून्य डिग्रीभन्दा तल झरेको छ । त्यसमाथि लगातार आइरहेका दर्जनौँ परकम्पनले पनि मानिसहरु घरभित्र जान डराइरहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.