दृश्यमा टर्की-सिरिया भूकम्प : ५ हजारको गयो ज्यान

माघ २४, २०७९ |कान्तिपुर टीभी संवाददाता
दृश्यमा टर्की-सिरिया भूकम्प : ५ हजारको गयो ज्यान

काठमाडौं । सोमबार ७ दशमलव ८ म्याग्नेच्युटको शक्तिशाली भूकम्पले दक्षिण पूर्वी टर्की र त्यससँग सीमा जोडिएको सिरियामा ठूलो जनधनको विनाश पुर्‍यायो । भूकम्प गए लगत्तै सुरु भएको घाइतेको खोजी र उद्धारको काम जारी छ । टर्कीका राष्ट्रपति रेसेप तैएप एर्दोगानका अनुसार तत्कालै विभिन्न अन्तर्राष्ट्रिय खोज तथा उद्धार टोलीहरू जुटेका छन् । 

सीमावर्ती साइप्रस र लेबनानसम्म पनि उक्त भूकम्पको धक्का महसुस भएको बताइएको छ । यस भूकम्पबाट भत्किएका भौतिक संरचनाका दृश्यहरू अहिले सामाजिक सञ्जालमा यत्रतत्र देखिएका छन् ।

के छ क्षतिको आँकडा ? 

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको पछिल्लो तथ्यांकअनुसार टर्की र सिरियामा गरी भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ५ हजार नाघेको छ । उक्त विनाशकारी भूकम्पकै कारण टर्कीमा ३ हजार ४ सय बढीको ज्यान गएको छ भने सिरियामा १ हजार ६ सय व्यक्तिले ज्यान गुमाएका छन् । त्यस्तै भूकम्पबाट घाइते हुनेहरूको सङ्ख्या २० हजार नाघेको छ । 

रोयटर्सकाअनुसार टर्कीमा मात्रै ६ हजार भन्दा बढी भवनहरू भत्किएका छन् । टर्कीको आपत्कालीन तथा विपद् व्यवस्थापन प्राधिकरणले बताएअनुसार भूकम्पबाट ध्वस्त भएका ४ हजार ७ सय भवनहरूबाट लगभग ८ हजार मानिसको उद्धार गरिएको छ ।

टर्की-सिरिया भूकम्प कति शक्तिशाली ?

यस अघि सन् १९९९ मा टर्कीमा ७ दशमलव ६ म्याग्नेच्युटको भूकम्प भएको थियो । जसका कारण १७ हजार मानिसले ज्यान गुमाएका थिए । सो भूकम्पका कारण लगभग ५० हजार घाइते र ५ लाख मानिसहरू घरबारविहीन भएका थिए ।

सोमबार भएको भूकम्प भने त्यसभन्दा ठूलो हो । भूकम्पविद्हरूले बताएअनुसार टर्की र सिरिया क्षेत्रमा विगत १०० वर्षको अवधिमा भएका भूकम्प मध्ये यो सबै भन्दा शक्तिशाली हो । सन् २०२१ को अगस्ट पछि रेकर्ड भएका भूकम्पहरूमध्ये पनि टर्की-सिरिया भूकम्प विश्वभरकै सबैभन्दा ठूलो मानिएको छ ।

हिजो (सोमबार) भएको ७ दशमलव ८ म्याग्नेच्युटको यस भूकम्पले टर्की-सिरियाका सहरी क्षेत्रका अधिकांश अपार्टमेन्टहरू, अस्पतालका भवनहरू तथा आवासीय भवनहरू क्षतिग्रस्त बनेका छन् । मृतक र घाइतेसहित अन्य विनाशको आँकडा अझै बढिरहेको छ । भूकम्पको मुख्य धक्का महसुस भएको ११ मिनेटमा ६ दशमलव ७ म्याग्नेच्युटको परकम्प गयो र त्यसको एक घण्टामा अर्को ७ दशमलव ५ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गयो । अझै पनि थप परकम्पहरू जानसक्ने अनुमान गरिएको छ ।

हताहतीको अन्तिम आँकडा के हुन सक्छ ?

विक्रम संवत् २०७२ सालमा नेपालमा भएको ७ दशमलव ८ म्याग्नेच्युटको गोर्खा भूकम्प र टर्की-सिरिया भूकम्प उस्तै प्रकृतिका हुन् । गोरखा भूकम्पका कारण ८ हजार ७ सय ९० ले ज्यान गुमाएका थिए भने २२ हजार ३ सय घाइते बनेका थिए । टर्की-सिरिया भूकम्पको विनाश गोरखा भूकम्पको तुलनामा बढी हुन सक्ने भूकम्पविद्हरू अनुमान गर्न थालेका छन् । ब्रिटिस जियोलोजिकल सर्भेका अनुसन्धान सहयोगी रोजर मुसन भन्छन्, 'यो राम्रो हुनेवाला छैन । मृतकको सङ्ख्या हजारौँमा हुनेछ, र दसौँ हजारमा पनि हुन सक्छ ।' उनी थप्छन्, 'जाडो मौसम छ । यस्तो मौसममा भग्नावशेषमुनि फसेका मानिसहरू बाँच्ने सम्भावना निकै कम हुन्छ ।'

के छ नेपालीको अवस्था ?

टर्कीमा रहेका नेपालीहरूको आधिकारिक तथ्यांक नभए पनि त्यहाँ १ हजार ५ सयदेखि २ हजारसम्म नेपालीहरू रहेको हुनसक्ने टर्कीको इस्तानबुलमा बस्ने एनआरएनएका विनोद पौडेल बताउँछन् । उनका अनुसार टर्की-सिरिया भूकम्पको अति प्रभावित क्षेत्रमा भने नेपालीहरू कम रहेका छन् । त्यस क्षेत्रमा बढीमा ५० जना नेपालीहरू हुन सक्ने पौडेलको अनुमान छ । अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धार र सहयोगका लागि कोसिस भइरहेको पौडेलको भनाइ छ ।

हेर्नुहोस् टर्कीबाट विनोद पौडेलसँगको प्रत्यक्ष कुराकानी...

सम्बन्धित समाचार...

टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

टर्की भूकम्प : मृत्यु हुनेको संख्या ३८ सय नाघ्यो, उद्धार कार्य जारी

टर्कीमा अर्को ठूलो परकम्प : १४ सय व्यक्तिको मृत्यु, हजारौँ घाइते


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.