उत्तर कोरियालाई परमाणु परीक्षण रोक्न दक्षिण कोरियाको चेतावनी

मंसिर १३, २०७९
उत्तर कोरियालाई परमाणु परीक्षण रोक्न दक्षिण कोरियाको चेतावनी

सोल । दक्षिण कोरियाका राष्ट्रपति युन सोक योलले उत्तर कोरियाले परमाणु परीक्षण गरेको अवस्थामा गठबन्धन राष्ट्रहरुका तर्फबाट अभूतपूर्व संयुक्त जवाफ दिइने चेतावनी दिएका छन् । साथै उनले उत्तर कोरियालाई प्रतिबन्धित परमाणु हतियार र क्षेप्यास्त्र विकास गर्ने प्रयास नगर्नका लागि सम्झाउन चीनलाई आग्रहसमेत गरेका छन् ।

रोयटर्सलाई दिएको अन्तर्वार्तामा युनले उत्तर कोरियाको निकटतम् मित्रराष्ट्र चीनलाई सुरक्षा परिषद्को स्थायी सदस्य राष्ट्रका रुपमा आफ्नो उत्तरदायित्व निर्वाह गर्न आह्वान गरेका छन् । चीनले उत्तर कोरियालाई परमाणु परीक्षणबाट नरोकेको अवस्थामा कोरियाली क्षेत्रमा हतियारको बाढी आउन सक्ने चेतावनीसमेत दिएका छन् ।

चीनसँग उत्तर कोरियामाथि प्रभाव पार्ने क्षमता रहेको र यस प्रक्रियामा संलग्न रहनु चीनको दायित्व भएको उनको भनाइ छ । शान्ति र स्थायित्वका लागि प्योङयाङमाथि आफ्नो प्रभावको प्रयोग गर्ने वा नगर्ने भन्ने कुरा बेइजिङ स्वयंले निर्णय लिनुपर्ने राष्ट्रपति यूनले बताए ।

उत्तर कोरियाका गतिविधिले जापानलगायत यस क्षेत्रका देशहरुको रक्षा खर्चमा बढौती भएको छ भने अमेरिकी युद्धक विमान जहाजको तैनाथी बढेकोछ ।

उत्तर कोरियाले अहिलेसम्म ६ पटक परमाणु परीक्षण गरिसकेको छ भने उसले निकट भविष्यमै सातौँ परमाणु परीक्षणको तयारी गरिरहेको आशंक गरिएको छ । यस वर्षमात्रै उत्तर कोरियाले थुप्रै पटक प्रतिबन्धित ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरिसकेको छ । केही दिनअघि मात्रै उत्तर कोरियाली शासक किम जोङ उनले आफ्नो देशले विश्वको सबैभन्दा शक्तिशाली परमाणु शक्ति बन्न चाहेको बताएका थिए ।

उत्तर कोरियाले सन् २००६ को अक्टोबरमा सफलतापूर्वक पहिलो परमाणु परीक्षण गरेको घोषणा गरेको थियो । २००६, २००९, २०१३, २०१६ र २०१७ मा गरी उत्तर कोरियाले अहिलेसम्म ६ पटक परमाणु परीक्षण गरिसकेको छ ।