चीनमा कोभिड प्रतिबन्धविरुद्ध प्रदर्शन चर्किँदै, राष्ट्रपति सीको राजीनामा माग

मंसिर १२, २०७९
चीनमा कोभिड प्रतिबन्धविरुद्ध प्रदर्शन चर्किँदै, राष्ट्रपति सीको राजीनामा माग

बेइजिङ । चीनमा कोभिडसम्बन्धी प्रतिबन्धको विरोधमा शुरु भएको प्रदर्शनले व्यापकता लिँदै गएको छ । देशको वाणिज्य राजधानी सांघाईमा सयौँ प्रदर्शनकारी र प्रहरीबीच झडप भएको रोयटर्सले जनाएको छ । सिन्जियाङ प्रान्तको राजधानी उरुम्कीबाट शुरु भएको प्रदर्शन राजधानी बेइजिङ, वाणिज्य राजधानी सांघाई, नान्जिङ, वुहान, छेङ्गदु लगायतका शहरसम्म फैलिएको समाचारमा जनाइएको छ ।

विरोध प्रदर्शनमा विद्यार्थीको पनि संलग्नता रहेकोछ । देशका विभिन्न विश्वविद्यालय, क्याम्पसहरुमा पनि विरोध प्रदर्शन भएको जनाइएको छ । प्रदर्शनका क्रममा राष्ट्रपति सी जिङफिनको राजीनामा मागिएको समाचारमा जनाइएको छ । सोमबार बिहानै बेइजिङको तेस्रो रिङरोडको लियांग्मा नदी नजिकै करिब एक हजार मानिसको दुई वटा समूह भेला भएर विरोध प्रदर्शन गरेको रोयटर्सले उल्लेख गरेको छ ।

प्रदर्शनकारीमध्ये कतिपयले ‘हामी मास्क चाहँदैनौ, हामी स्वतन्त्रता चाहन्छौँ’ जस्ता नारासमेत लगाएको समाचारमा जनाइएको छ । राष्ट्रपति सीविरुद्ध देखिएको यो खुला विरोध चीनका लागि विरलै देखिने घटना भएको पश्चिमा विश्लेषकहरुको टिप्पणी छ ।

चीनले अंगिकार गर्दै आएको शून्य कोभिड नीतिका कारण धेरै मानिसको ज्यान जोगिएको विश्वास गरिएपनि यसले आम मानिसको जनजीविका र देशकै अर्थतन्त्रमा गम्भीर असर पारेको छ ।

कोभिड प्रतिबन्धप्रति मानिसहरुमा आक्रोश र नैराश्यता दुवै रहँदै आएको छ । शून्य कोभिड नीतिका बाबजुद केही समय यता कोरोना संक्रमण बढ्न थालेपछि सरकारले अगष्ट शुरुदेखि कडा लकडाउन गर्दै आएको छ ।

गत बिहीबार सिन्जियाङ्ग प्रान्तको राजधानी उरुम्कीस्थित एउटा अपार्टमेन्ट भवनमा भएको आगलागीमा १० जनाको मृत्यु भएपछि स्थानीय तहमा शुरु भएको विरोध प्रदर्शन विस्तारै देशका अन्य सहरमा फैलिएको हो । आगलागी हुनुका पछाडि कोभिड लकडाउन मुख्य कारण भएको आरोप लागेपछि विरोध प्रदर्शन शुरु भएको हो ।