उत्तर कोरियाले गर्‍यो अमेरिकासम्म पुग्न सक्ने क्षेप्यास्त्र परीक्षण

मंसिर ३, २०७९
उत्तर कोरियाले गर्‍यो अमेरिकासम्म पुग्न सक्ने क्षेप्यास्त्र परीक्षण

प्योङ्याङ । उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी आणविक चेतावनीलाई आणविक हतियारले प्रतिकार गर्न आग्रह गरेका छन् । उत्तर कोरियाको नयाँ अन्तरमहाद्विपीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणको अवलोकन गर्दै उनले यस्तो आग्रह गरेको त्यहाँको सरकारी मिडिया केसीएनएले जनाएको छ ।

उनले आफ्ना विरोधीहरुले खतरा उत्पन्न गराइरहे आफ्नो पार्टी र सरकारले आणविक हतियारले जवाफ दिने चेतावनी दिएका थिए । वासिंटनले कडा सैनिक प्रतिक्रिया जनाउने चेतावनी दिएलगत्तै उत्तर कोरियाले शुक्रबार हवासङ सेभेन्टिन नामक ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको हो ।

उक्त क्षेप्यास्त्रले ६९ मिनेटमा १ हजार किलोमिटर उड्न सक्ने क्षमताको रहेको बताइएको छ । जापानी रक्षामन्त्री यासुकाजु हमादाले उक्त क्षेप्यास्त्र १५ हजार किलोमिटरको दूरीसम्म यात्रा गर्न सक्ने क्षमताको रहेको जनाएका छन् । अर्थात् अमेरिकासम्म पुग्नसक्नेछ । उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको जवाफमा अमेरिका र दक्षिण कोरियाले संयुक्त हवाई अभ्यास गरेका थिए ।

क्षेप्यास्त्र परीक्षणको निरीक्षणमा गएका किम पहिलोपटक आफ्नी छोरीसहित देखिएका थिए ।