पत्रकार खसोक्जी हत्या प्रकरण : साउदी राजकुमार सलमानलाई अमेरिकाबाट मिल्यो राहत

मंसिर ३, २०७९
पत्रकार खसोक्जी हत्या प्रकरण : साउदी राजकुमार सलमानलाई अमेरिकाबाट मिल्यो राहत

बैंकक । अमेरिकाले पत्रकार जमाल खसोक्जी हत्या काण्डमा मुछिएका साउदी राजकुमार मोहम्मद बिन सलमानको बचाउ गरेको छ ।

साउदी राजकुमार मोहम्मद बिन सलमान दुई महिना अघिमात्र साउदी अरेबियाको प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

साउदी अरबको प्रधानमन्त्रीको नयाँ भूमिकाका कारण राजकुमार सलमानलाई उक्त घटनाबाट छुट दिइएको अमेरिकाको विदेश मन्त्रालयले बताएको छ ।

साउदी अरब सरकारको कट्टर आलोचक खसोक्जीलाई चार वर्ष अघि टर्कीको राजधानी इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा हत्या गरिएको थियो ।

यसअघि अमेरिकी गुप्तचर संस्थाहरुले उक्त हत्या साउदी राजकुमारको आदेशमा भएको दावी गरेका थिए ।

अन्तर्राष्ट्रिय कानुनअनुसार राष्ट्र प्रमुखहरुलाई कुनै पनि किसिमको फौजदारी अभियोगमा संरक्षण प्राप्त हुने कोलम्बियास्थित एक अदालतमा अमेरिकाको न्याय मन्त्रालय पेस गरेको पत्रमा उल्लेख गरिएको छ । अमेरिकाको उक्त भनाइसँगै खसोक्जीका पूर्व मंगेतर हेटीस संगीजले खसोक्जीको आज फेरि मृत्यु भयो भनी ट्टिवट गरेकी छन् ।

यद्यपि, जो बाइडेन सरकारले अहिलेको कदमले राजकुमार सलमानलाई निर्दोष भएको निर्धारण भने नगर्ने स्पष्ट पारेको छ ।

राजकुमार सलमानले खसोक्जी हत्या प्रकरणमा आफ्नो कुनै पनि किसिमको संलग्नता नरहेको भन्दै आरोप अस्वीकार गर्दै आएका छन् ।