‘पारस्परिक सम्मान, ऐक्यबद्धता र सहयोगलाई महत्त्व दिऔं’

मंसिर २, २०७९
‘पारस्परिक सम्मान, ऐक्यबद्धता र सहयोगलाई महत्त्व दिऔं’

बैंकक । थाइल्यान्डको बैंककमा २९औं एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलन सुरु भएको छ । सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले ठूला शक्ति केन्द्रहरुको रणभूमि एसिया बन्न नहुने बताएका छन् ।

बैंककमा एपेक सम्मेलन सुरु हुनुअघि लिखित सम्बोधन गर्दै सीले शीतयुद्धको खतरा रहेकाले यस क्षेत्रमा देखिएका विवादहरुलाई अस्वीकार गर्नुपर्ने आवश्यकता औंल्याए । उनले आर्थिक तथा व्यापार सम्बन्धलाई हतियार बनाउने तथा राजनीतीकरण गर्ने प्रयास गरिएको भन्दै निन्दा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तर, एपेक नेताहरुको सम्मेलनलाई सम्बोधनका क्रममा भने उनले नरम भाषा प्रयोग गरेका थिए । त्यस अवसरमा उनले शान्ति, स्थिरता र विकासमा जोड दिएका थिए ।

उनले एसिया-प्रशान्त क्षेत्र विश्वव्यापी आर्थिक विकासको शक्तिकेन्द्र पनि भएको उल्लेख गर्दै बितेका दशकमा यस क्षेत्रमा भएका विकासको विश्वभर प्रशंसा गरिएको बताए । राष्ट्रपति सीले अन्तर्राष्ट्रिय निष्पक्षता र न्याय कायम गर्न आग्रह गर्दै पारस्परिक सम्मान, ऐक्यबद्धता र सहयोगको महत्त्वलाई विशेष जोड दिन सहभागी नेताहरूसँग आग्रह गरे ।