२ दशक संसद्को नेतृत्व गरेकी पेलोसीद्वारा राजीनामा घोषणा

मंसिर २, २०७९
२ दशक संसद्को नेतृत्व गरेकी पेलोसीद्वारा राजीनामा घोषणा

न्युयोर्क । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेभ्सकी सभामुख तथा संसदमा डेमोक्र्याटिक पार्टीको संसदीय दलकी नेता न्यान्सी पेलोसीले पदबाट राजीनामाको घोषणा गरेकी छन् ।

राजीनामाको घोषणा गर्दै पेलोसीले आगामी संसद्‌मा डेमोक्र्याटिक पार्टीको संसदीय दलको नेता पदमा पुनर्निर्वाचित हुन आफूले प्रतिस्पर्धा नगर्ने पनि बताएकी छन् ।

हालै सम्पन्न मध्यावधि निर्वाचनमा विपक्षी रिपब्लिकनले तल्लो सदनमा बहुमत ल्याउने निश्चित भएपछि पेलोसीले राजीनामा दिने घोषणा गरेकी हुन् । ८२ वर्षीया पेलोसी अमेरिकी संसद्‌मा सबैभन्दा शक्तिशाली डेमोक्र्याट हुन् । साथै उनी संसद्‌को सभामुख हुने पहिलो महिला पनि हुन् । संसदीय दलको नेता पदबाट राजीनामा दिने बताए पनि उनले क्यालिफोर्निया डिस्ट्रिक्टबाट संसद्‌को तल्लो सदनमा प्रतिनिधित्व भने गरिरहनेछिन् ।

रिपब्लिकन पार्टीका केभिन म्याककार्थीले आगामी संसद्‌मा सभामुख पदका लागि पार्टीको मनोनयन जितिसकेका छन् । उनले नै पेलोसीलाई प्रतिस्थापन गर्ने लगभग निश्चित छ । आगामी जनवरी ३ मा नयाँ संसद नआउँदासम्म पेलोसी सभामुख पदमै रहिरहनेछिन् ।

पेलोसीले करिब दुई दशकदेखि संसदको तल्लो सदनमा पार्टीको नेतृत्व गर्दै आएकी छन् । २००७ देखि २०११ सम्म र २०१९ देखि हालसम्म उनले दुईपटक संसद्‌को सभामुखको पद सम्हालेकी छन् । १९८७ देखि सांसद रहँदै आएकी उनी २०२५ सम्म सांसद् रहनेछिन् ।

न्युयोर्कका सांसद हकिम जेफरी तल्लो सदनमा डेमोक्र्याटिक पार्टीको नयाँ नेता चयन हुने अपेक्षा गरिएको छ । उनी अमेरिकी इतिहासमै संसदीय दलको पहिलो अश्वेत नेता हुनेछन् ।