सन् २०२४ को राष्ट्रपति चुनावमा उम्मेदवार बन्ने ट्रम्पको घोषणा

कार्तिक ३०, २०७९
सन् २०२४ को राष्ट्रपति चुनावमा उम्मेदवार बन्ने ट्रम्पको घोषणा

फ्लोरिडा । सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका नेता एवं पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले उम्मेदवार बन्ने घोषणा गरेका छन् । ट्रम्पले आगामी राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् ।

राष्ट्रपतीको उम्मेदवार बन्न अब उनले आफ्नो पार्टी रिपब्लिकनबाट चुनिनु पर्नेछ । राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणासँगै ट्रम्पले पार्टीको आन्तरिक प्रतिस्पर्धाका लागि तयार रहेको संकेत गरेका छन् ।

फ्लोरिडाको मार–ए–लागोमा भएको र्‍यालीको ठीक अगाडि उनले उम्मेदवारीको घोषणा गरेका हुन् ।

र्‍यालीलाई सम्बोधन गर्दै उनले भने, ‘अमेरिकालाई पुनः महान तथा गौरवशाली बनाउन आज राति म अमेरिकाको राष्ट्रपतिका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दैछु ।’

उनले अमेरिकी जनताबाट आफूले धेरै माया पाएको प्रतिक्रिया दिएका छन् । ‘अब २०२४ को चुनावको दिनसम्म म यसरी लड्ने छु कि यसअघि यस किसिमले कोही लडेका थिएनन्,’ उनले भने ।

कट्टरपन्थी वाम डेमोक्रेट्सले अमेरिकालाई तहसनहस बनाएको आरोप लगाउँदै उनीहरुलाई हराएरै छाड्ने ट्रम्पको भनाइ छ । उनले यसलाई यो एक अभियानमात्रै नभइ देश बचाउने प्रयाससमेत भएको बताए ।

ट्रम्पले आफ्नो उम्मेदवारी घोषणा गर्दै गर्दा अमेरिकी राष्ट्रपति जो बाइडेन भने यतिबेला जी–२० सम्मेलनका क्रममा इन्डोनेसियाको बालीमा छन् ।