काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित मम पसलमा आज बिहान ग्यास सिलिण्डर विस्फोट भयो । ११ जना घाइते भए ।
जलेर घाइते भएका उनीहरूलाई हतारहतार कीर्तिपुर अस्पताल लगियो । तर बेड अभावका कारण आइसीयूमा राख्नुपर्ने बिरामीलाई जनरल वार्डमा राखेर उपचार गर्नुपर्ने अवस्था भयो । सरकारले देशका सातै प्रदेशमा विभिन्न अस्पताललाई जलन उपचार केन्द्र तोकेर आर्थिक अभाव भएका बिरामीलाई निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । तर, ति अस्पतालमा पुर्वाधार र जनशक्ति नहुँदा काठमाडौंमा नै उपचार गर्न आउनुपर्ने बाध्यता छ । अर्कोतर्फ काठमाडौंमै पनि पर्याप्त श्रोत साधन नहुँदा एउटै दुर्घटनामा परेका घाइतेले समेत उपचारका लागि आइसीयु बेड पाउन सकेनन् ।
घाइतेहरुको कीर्तिपुरस्थित जलन अस्पताल उपचार भइरहेको छ । सबै घाइतेको अवस्था गम्भीर रहेको कीर्तिपुर अस्पतालका निर्देशक डा किरण किशोर नकर्मीले जानकारी दिनुभयो ।
खासमा, कीर्तिपुर अस्पतालमा जलनका बिरामीका लागि ३५ बेडमात्र उपलब्ध छ । तर अस्पतालमा जलनका ३८ बिरामी पहिल्यै उपचाररत छन् । त्यसमाथि बिहीबारको दुर्घटनाका ११ बिरामी पुर्याउँदा बेड नपुग्ने अवस्था सिर्जना भयो । क्षमताभन्दा बढी बिरामी हुँदा समस्या भएको अस्पताल व्यवस्थापन समितिका सदस्य रमनमान सिंह बताउनुहुन्छ ।
सरकारले गत कात्तिक २ गते आर्थिक अभाव भएका जलनका बिरामीको निःशुल्क उपचार गर्ने निर्णय गर्यो । त्यसका लागि सातै प्रदेशमा अस्पताल पनि तोकियो । तर काठमाडौंमै जलनको उपचार हुने र पर्याप्त बेड पाउने स्थिति छैन । निशुल्क त परको कुरा, शुल्क तिरेरै पनि उपचार गराउन सहज छैन भन्ने कुरा बिहीबारको घटनाले देखाएको छ । सरकारले अस्पताल त तोकेको छ, तर न जलन उपचारका लागि तोकिएका अस्पतालमा बजेट पठाएको छ, न त त्यस अनुसारको दक्ष जनशक्ति नै । अभियन्ता उज्जवल थापा कुनै ठूलो दुर्घटना भए अवस्था झन् भयावह हुने बताउनुहुन्छ ।
सरकारले तोकेका अस्पतालहरूमा जलनका लागि छुट्टै वार्डलगायतका केही पनि सुविधा छैन । देशभरका जलनका बिरामी काठमाडौं नै आउनुपर्ने बाध्यता छ । काठमाडौंमा कीर्तिपुर, वीर र शिक्षणबाहेक अरु कुनै पनि अस्पतालमा उपचार पाउने स्थिति छैन, त्यसमाथि बेडसमेत सीमित छन् ।