पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियानमा सरकारले १ अर्ब ३० करोड खर्च गर्दै

एकतिहाइ रकम सरकारले र बाँकी दातृ निकायले बेहोर्ने
माघ १७, २०८१ |कृपाल गौतम
पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियानमा सरकारले १ अर्ब ३० करोड खर्च गर्दै

काठमाडौं । नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक ४ जनाको मृत्यु हुने गर्छ । तर यो रोग समयमै पत्ता लागेमा निको पार्न सकिन्छ र जोखिम न्यूनीकरण गर्न सकिन्छ । एचपीभी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न मद्दत गर्छ ।

सरकारले यही माघ २२ गते अर्थात् विश्व क्यान्सर दिवसको अवसर पारेर देशभर पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान सञ्चालन गर्दै छ । फागुन ७ गतेसम्म सञ्चालन हुने यो अभियान अन्तर्गत १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजारभन्दा बढी किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ । अभियानका लागि १ अर्ब ३० करोड खर्च हुने स्वास्थ्य मन्त्रालयको आकलन छ ।

नेपालमा दैनिक औसत ६ जनालाई पाठेघरको मुखको क्यान्सर देखिने गरेको छ । अरू क्यान्सरको कारण ठ्याक्कै पत्ता नलागे पनि पाठेघरको मुखको क्यान्सर एचपीभी भाइरसबाट हुने अनुसन्धानहरूले देखाएका छन् । समयमै परीक्षण गरेमा यो भाइरस शरीरमा भए नभएको १० वर्षअघि नै थाहा पाउन सकिन्छ र समयमै पत्ता लागेमा निको बनाउन सकिन्छ वा यसको जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ ।

एचपीभी खोपले पनि यो क्यान्सरको जोखिम कम गर्न मद्दत गर्छ । खोप अभियानकी सद्‌भावना दूत अभिनेत्री मनीषा कोइरालाले स्वास्थ्य महत्त्वपूर्ण भएकाले सबैलाई खोप लगाउन अपिल गर्नुभएको छ ।

“म आफैं पनि क्यान्सरपीडित भएर निको भएर आएको मान्छे हुँ । त्यसैले स्वास्थ्य कति महत्त्वपूर्ण छ भन्ने मलाई आफ्नै अनुभवले थाहा छ । कुनै पनि राम्रो काम गर्दा म सहभागी हुँदा मलाइ गर्व लाग्छ”, अभिनेत्री कोइरालाले भन्नुभयो ।

पाठेघरको मुखको क्यान्सर, महिलाहरूमा क्यान्सरका कारण हुने मृत्युको पहिलो कारण हो । गाभीको सहयोग तथा नेपाल सरकारको सह-लगानीमा एचपीभी खोप नेपाल ल्याइएको हो । माघ २२ देखि फागुन ७ गतेसम्म सञ्चालन हुने यो अभियानमा ६ देखि १० कक्षा अध्यन गर्ने वा १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७ सय ६८ किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ । तर अर्को वर्षदेखि १० वर्ष उमेर समूहका लागि मात्रै दिइने भएकाले यो वर्ष लक्षित समूहका सबैले लगाउन विश्व स्वास्थ्य संगठनले अपिल गरेको छ ।

“अर्को वर्षदेखि यो खोप १० वर्षका किशोरीहरूलाई मात्र दिइनेछ । अहिले उमेर हद भनेको १० देखि १४ वर्ष हो । हाम्रो कार्यक्रम त्यसरी नै बनेको छ”, विश्व स्वास्थ्य संगठनका मेडिकल अफिसर डा. वलविन्दर सिंहले बताउनुभयो ।

एचपीभी खोप अभियानका लागि १ अर्ब ३० करोड ३५ लाख खर्च हुने सरकारको आकलन छ । यसको एकतिहाइ रकम नेपाल सरकारले र बाँकी दातृ निकायले बेहोर्ने छ । स्वास्थ्य मन्त्रालयले लक्षित समूहका कोही छुटेमा अभियान लगत्तै वडाबाट पनि खोप उपलब्ध गराउने बताएको छ । “१० देखि १४ वर्ष उमेर समूहका कोही पनि विद्यालयमा खोप लगाउने अवधिभित्र पुग्नुभएन भने हामीले वडामा लगाउने व्यवस्था गरेका छौं”, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बताउनुभयो ।

कक्षा ६ देखि १० सम्मका किशोरीहरूलाई समयमै पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिनु निकै सराहनीय काम हो । योसँगै सरकारले बेलैमा स्क्रनिङ गरी बृहत् रूपमा जोखिम पहिचान गर्न सकेमा धेरै महिलाहरूको ज्यान बच्न सक्थ्यो ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement