दिल्लीका प्रमुख अस्पतालमा नेपाली बिरामीको चाप

वैशाख ३०, २०८० |राजेश मिश्र
दिल्लीका प्रमुख अस्पतालमा नेपाली बिरामीको चाप

नयाँ दिल्ली । स्वदेशमा उपचारको राम्रो प्रबन्ध नभएको भन्दै नेपालबाट बिरामीहरु भारतको राजधानी नयाँ दिल्ली धाउने क्रम बढेको छ । दिल्लीका प्रमुख अस्पतालमा कति नेपाली उपचाररत छन् एकिन तथ्याङ्क नभए पनि २० देखि ३० प्रतिशत बिरामी नेपाली रहेको अनुमान छ ।

दिल्लीका अस्पतालहरु मध्ये रोहणीमा रहेको राजीव गान्धी क्यान्सर अस्पतालका क्यान्टिन, टिकट काउन्टर, लवी, ओपीडी, ल्याब जतासुकै नेपाली भेटिन्छन् । अस्पतालको लवीमा भेटिएकी भक्तपुरकी रेणुका श्रेष्ठ आफ्नी आमाको क्यान्सरको उपचारका लागि ९ महिनादेखि नियमित अस्पताल धाइरहेकी छिन् ।

राजीव गान्धी क्यान्सर अस्पताल रहेको रोहणीको सोमबजार क्षेत्रमा फ्ल्याट लिएर उपचाररत धेरै नेपालीहरु बसेका छन् । अस्पताल नजिकै ट्राभल एण्ड टुरको बिजनेस चलाउने नेपालकै विष्णु शाहीका अनुसार दैनिक १५ देखि २० जनासम्म नयाँ नेपाली बिरामी आउने गरेका छन् । अस्पतालमा विदेशबाट आउने बिरामीको ठूलो हिस्सा नेपालीकै छ ।

अस्पतालमा भर्ना भएका, ओपीडीमा लाइन बसेका वा किमो चढाइरहेका सबैतिर हेर्दा नेपाली बिरामीको संख्या २० देखि २५ प्रतिशत देखिन्छ । अस्पतालको अन्तर्राष्ट्रिय डेस्कले क्यामरामा बोल्न मानेनन् । नेपाली बिरामीको चाप हेरेरै अस्पतालले भर्खरै हेल्प डेस्कमा एक जना नेपाली कर्मचारी राखेको छ । नेपाली बिरामीलाई भुक्तानीमा भने समस्या छ । नेपाली एटीएमबाट दैनिक १५ हजार भारु मात्रै निकाल्न पाइने, एटीम स्वाइप गरेर ६० हजारसम्म भारु मात्रै भुक्तानी गर्न सकिन्छ ।

भारतले क्यान्सरका नेपाली बिरामीलाई रेल यात्रामा पूरा छुट दिएको छ । त्यस्तै नेपाल एयरलाईन्सले पनि क्यान्सरका बिरामीलाई टिकटमा सुविधा दिने गर्छ ।

थप...

स्वास्थ्य सेवा महँगो भएकै कारण बर्सेनि ५ लाख नेपाली गरिब बन्दै
स्वास्थ्य मन्त्रालयको बजेट सिलिङ ४० प्रतिशतले घट्यो


Image

राजेश मिश्र

मिश्र कान्तिपुर टीभीका दिल्ली संवाददाता हुन् ।