स्वास्थ्य मन्त्रालयको बजेट सिलिङ ४० प्रतिशतले घट्यो

वैशाख २८, २०८० |कान्तिपुर टीभी संवाददाता
स्वास्थ्य मन्त्रालयको बजेट सिलिङ ४० प्रतिशतले घट्यो

काठमाडौं । स्वास्थ्य मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट कटौती हुने भएको छ । राष्ट्रिय योजना आयोगले स्वास्थ्य मन्त्रालयको बजेटको सिलिङ ४० प्रतिशतले घटाएर पठाएको छ ।

चालु आर्थिक वर्षका स्वास्थ्य मन्त्रालयले ६९ अर्ब ३८ करोड बजेट पाएको थियो । आगामी वर्षका लागि भने मन्त्रालयले ४१ अर्ब ४५ करोडको सिलिङ पाएको हो । मन्त्रालयले क्यान्सर, डायलाइसिसलगायत कार्यक्रममा दिँदै आएको सहुलियत रोक्न नमिल्ने भएकाले बजेट घटेर आउँदा अन्य कार्यक्रम सञ्चालन गर्न समस्या पर्ने जनाइएको छ । यस्तै हरेक स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य संस्थाका संरचनामा निर्माणमा समस्या आउने तर्क मन्त्रालयको छ ।

मन्त्रालयले बजेट घटेर समस्या आउने बताइरहँदा चालु आर्थिक वर्षको हालसम्म ३३ प्रतिशत मात्र खर्च गर्न सकेको छ । आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहेकाले केही खर्च बढ्ने भए पनि मन्त्रालयले सबै बजेटको सदुपयोग गर्न सक्ने अवस्था देखिँदैन ।

स्वास्थ्य मन्त्रालयले भने स्वास्थ्य क्षेत्रको सुधारका लागि कुल बजेटको १० प्रतिशत माग गर्दै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.