आवश्यकता पहिचान नगरी उपकरण खरिद, करोडौंका सामग्री अलपत्र (भिडियो रिपोर्ट)

माघ २५, २०७९ |कृपाल गौतम
आवश्यकता पहिचान नगरी उपकरण खरिद, करोडौंका सामग्री अलपत्र (भिडियो रिपोर्ट)

काठमाडौं । कोरोना महामारीका बेला सरकारले ठूलो संख्यामा स्वास्थ्य उपकरण खरिद गर्‍यो । कैयौं उपकरण अनुदानमा पनि ल्यायो । तर दुई वर्षअघिदेखि ल्याइएका करोडौं मूल्यका यस्ता उपकरण सञ्चालनमै ल्याइएको छैन । कतिपय सामग्री त जडानसम्म भएका छैनन् । पूर्वाधार र जनशक्तिलगायत समस्या देखाउँदै सरकारले यस्ता सामग्री सञ्चालनमा नल्याएको हो ।

गोरखाको गोरखा अस्पताललाई सरकारले ६ महिनाअघि नै अक्सिजन सिलिन्डर भर्न प्रयोग हुने रिफिल बुस्टर दियो । तर अहिलेसम्म सञ्चालनमा आएको छैन । त्यति मात्र होइन, कोरोना महामारीको पहिलो लहरमै आईसीयूका सामग्री आए पनि सञ्चालनमा नल्याइएको जिल्ला अस्पताल गोरखाका सूचना अधिकारी कृष्ण ढकालको भनाइ छ ।

पाँचथर जिल्ला अस्पतालले कोरोना रोकथाम कोषबाट प्राप्त दुई करोड रुपैयाँले १० शय्या क्षमताको आईसीयू र चारवटा भेन्टिलेटर सञ्चालनका लागि उपकरण खरिद गर्यो । तर सञ्चालनमा चासो दिएको छैन ।

यी त उदाहरण मात्र हुन् । कोरोना महामारीका बेला देशका अधिकांश स्वास्थ्य संस्थामा नयाँ उपकरण खरिद गरिए । तर अधिकांश स्वास्थ्य संस्थामा यस्ता सामग्री प्रयोग भएका छैनन् । त्यसको दोष जनशक्ति अभाव र पूर्वाधारलाई दिने गरिएको प्रदेश १ का स्वास्थ्य सचिव अनुज भट्टचनको भनाइ छ ।

नेपालमा कोभिड महामारी यता करिब एक अर्ब रुपैयाँका स्वास्थ्य उपकरण भित्रिएको सरकारको अनुमान छ । कोभिडको पहिलो लहर यता अस्पतालहरुमा १३३ हेमोडाइलासिस मेसिन पठाइएकामा ३८ वटा सञ्चालनमा आउन सकेका छैनन् । यस्तै १३ वटा पोर्टेबल एक्सरे मेसिन पठाइएकामा तीनवटा मात्र सञ्चालनमा छन् । ३१७ वटा भेन्टिलेटर विभिन्न अस्पतालमा पठाइएकामा १२२ वटा सञ्चालनमा ल्याउन सकिएको छैन । ठूलो संख्यामा स्वास्थ्य उपकरण अलपत्र पर्दा पनि सञ्चालनमा सरकार उदासीन छ ।

आवश्यकता पहिचान नगरी उपकरण खरिद गर्दा पनि समस्या भएको विज्ञ बताउँछन् । यसरी सामग्री प्रयोगविहीन हुँदा स्रोतको दुरुपयोग भएको उनीहरुको भनाइ छ ।

त्यसो त कुन सामग्री आवश्यक छ भन्नेबारे अध्ययनसमेत हुने गरेको छैन । महामारीका बेला हतारमा खरिद गरिएका सामग्रीको कति सदुपयोग भयो भन्नेबारे सरकारले नियमनसमेत गर्न सकेको छैन ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।