के कारण बालबालिकामा अटिजमको समस्या बढ्दै छ ? (भिडियो रिपोर्ट)

माघ २५, २०७९ |सुशीला पाठक
के कारण बालबालिकामा अटिजमको समस्या बढ्दै छ ? (भिडियो रिपोर्ट)

विराटनगर । पछिल्लो समय अटिजमको समस्या भएका बालबालिकाको संख्या बढ्न थालेको छ । यो समस्याको बारेमा धेरैलाई जानकारी त छैन नै यसको यकिन तथ्याङ्कसमेत राज्यसँग छैन । यसको समयमै पहिचान गरी उपचार गरे त्यस्ता बालबालिकको जीवन सहज बनाउन सकिने चिकित्सकहरुको भनाइ छ ।

पाल्पा घर भएकी चीना मगरको छोरा अहिले आठ वर्षका भए । तीन वर्षको हुँदासम्म सोधेको कुरामा प्रतिक्रिया नदिने, बिसर्ने, आफ्नै सुरमा खेल्ने, बोलाउँदा वास्ता नगर्ने, आँखामा आँखा नजुधाउनेजस्ता समस्या उनको छोरामा देखियो । सुरुमा त उनी छोरालाई के भएको होला भनेर अलमलमा परिन् । पछि मात्रै छोरालाई अटिजम भएको चीनालाई थाहा भयो ।

अटिजम के हो भन्ने थाहा नहुनु एउटा समस्या छ भने चिकित्सकले अटिजम भनेर प्रमाणित गर्दा पनि अभिभावकले स्वीकार्न नसक्दा यो जटिल बन्दै गएको छ ।

अटिजम भएको बच्चाले आँखामा आँखा नजुधाउने, एकान्त मन पराउने, आफ्नै सुरमा एक्लै खेल्ने, घुलमिल हुन नचाहने, अरूको कुरा बुझ्न नसक्ने, बोलेर अभिव्यक्त गर्न नसक्ने, बोले पनि नबुझिने, सामान्य काम गर्नसमेत अरुको मद्दत चाहिने हुन्छ ।

अमेरिकामा भएको अध्ययनअनुसार ५९ बालबालिकामध्ये एक जनामा अटिजम भेटिने तथ्याङ्क भएपनि नेपालमा के कति बालबालिका यो समस्याबाट प्रभावित छन् भन्ने यकिन तथ्याङ्क छैन ।

अटिजम भएका शिशुलाई विशेष शिक्षा, उचित हेरचाह, विशेष खाले फर्निचरको व्यवस्था गर्नुपर्ने, फिजियो थेरापी, स्पिच थेरापी, अक्युपेसनल थेरापी, बाल मनोपरामर्श र बालरोग विशेषज्ञको नियमित सेवा आवश्यक पर्ने चिकित्सकको भनाइ छ ।

जिनमा परिवर्तन आएर स्नायु प्रणालीको सहज रूपमा विकास नहुनु, महिलाले गर्भावस्थामा चिकित्सकको परामर्श बिना औषधि सेवन गर्नु, प्रसवको बेलामा शिशुलाई आघात पर्नु, जन्मिदा दिमागमा अक्सिजनको मात्रा कम हुँदा अटिजमको समस्या देखिनसक्ने चिकित्सकहरू बताउँछन् । यसको समयमै पहिचान गरी उपचार गरे त्यस्ता बालबालिकको जीवन सहज बनाउन मद्दत पुग्ने चिकित्सकको भनाइ छ । 


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।