इनरुवा अस्पताल राजनीतिक स्वार्थको चेपुवामा (भिडियो रिपोर्ट)

माघ २२, २०७९ |अर्जुन सुवेदी
इनरुवा अस्पताल राजनीतिक स्वार्थको चेपुवामा (भिडियो रिपोर्ट)

इनरुवा । राजनीतिक हस्तक्षेप र स्वार्थका कारण सुनसरीको इनरुवा अस्पतालको सेवा प्रवाहमा समस्या देखिएको छ । लामो समयदेखि अस्तव्यस्त रहेको अस्पताल एक वर्षयता सुधार भएर बिरामीको चाप बढ्न थाले पनि अस्पताल प्रशासन र व्यवस्थापन समितिबीच उत्पन्न विवादले अस्पताल सञ्चालनमा कठिनाइ भएको छ ।

सुनसरी सदरमुकाम इनरुवामा रहेको यो अस्पतालबाट सदरमुकामसहित आधा दर्जन स्थानीय तहका जनताले सेवा लिने गरेका छन् । एक वर्षयता सेवामा आएको गुणात्मक परिवर्तनले उपचारका लागि विराटनगर, धरान धाउनुपर्ने स्थानीयको बाध्यता हटेको छ । तर अस्पताल प्रशासन र व्यवस्थापन समितिबीच द्वन्द्व बढ्दै गएपछि समस्या उत्पन्न भएको छ ।

६ महिनादेखि अस्पताल व्यवस्थापन समितिको बैठक बस्न नसक्दा कर्मचारीको तलब-भत्ता, नयाँ कर्मचारी र चिकित्सक नियुक्तिमा ढिलाइ हुनुका साथै नयाँ उपकरण र औषधि खरिद हुन सकेको छैन । अस्पतालको बजेटसमेत फ्रिज हुने जोखिम बढेको छ ।

अस्पताल सञ्चालन कार्यविधिमा जिल्ला समन्वय प्रमुख अध्यक्ष रहने व्यवस्था छ । राजनीतिक स्वार्थको आधारमा अस्पतालमा कर्मचारी भर्ना गर्न नपाएपछि अस्पताल व्यवस्थापन समितिका अध्यक्षले ६ महिनायता बैठक बस्न नदिएको अस्पताल प्रशासनको आरोप छ । तर व्यवस्थापन समितिका पदाधिकारी भने व्यस्तताको कारणले बैठक बस्न नसकेको दाबी गर्छन् ।

यो अस्पतालमा दैनिक औसत ४ सय बिरामी उपचारका लागि आउँछन् । अस्पतालको स्तरोन्नति गर्न लगानीसमेत जुट्न थालेको अवस्थामा पुन: राजनीतिक स्वार्थको चेपुवामा परेर अस्पताल पहिलेकै अवस्थामा पुग्ने पो हो की भन्ने चिन्ता बढेको छ ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।