'अनधिकृत औषधि बिक्री नियन्त्रण नगरिए अनलाइन सपिङ जस्तै भद्रगोल हुनेछ'

माघ १७, २०७९ |कान्तिपुर टीभी संवाददाता
'अनधिकृत औषधि बिक्री नियन्त्रण नगरिए अनलाइन सपिङ जस्तै भद्रगोल हुनेछ'

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले बजारमा विभिन्न प्रकारका औषधि अनधिकृतरुपमा बिक्री भइरहेकाले त्यसको नियमन गर्ने निकाय आवश्यक रहेको बताइकी छन् ।

मंगलबार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा उनले सामाजिक सन्जालमा विज्ञापन गराई अनधिकृत औषधि बिक्री भइरहेकोबारे औषधि विभागलाई सचेत गराइन् ।

औषधि बजारमा आउनुअघि डीडीए र औषधि विभागमा देखाउनु पर्ने र अनुमति लिनैपर्ने व्यवस्था गर्न आवश्यक रहेको कार्कीको भनाइ छ । उनले औषधि नागरिकसँग प्रत्यक्ष जोडिएकाले आफूखुसी बिक्री भइरहेका अनधिकृत औषधि नियमन गर्न जरुरी रहेको बताएकी हुन् ।

राज्यमन्त्री कार्कीले भनिन्, ‘कुनैपनि प्रोडक्टहरु बन्छन् र बजारमा पुग्दैगर्दा डीडीएमा देखाउनुपर्ने, अनुमति लिनुपर्ने तथा औषधि विभागमा देखाउनुपर्ने र अनुमति लिनैपर्ने व्यवस्था हामीले बनाउनु पर्छ ।’ उनले बजारमा विभिन्न प्रकारका मालिस गर्ने तेलहरू, दाँत सेतो पार्ने औषधिहरू, कपाल उमार्ने तेलहरू र आयुर्वेदिक औषधिहरूको गुणस्तर मापननमा सरकार चुकिरहेको आत्मसात् गर्दै त्यसको नियमन गर्न अत्यन्त जरुरी रहेको बताइन् ।

राज्यमन्त्री कार्कीले अवस्थाको प्रभावकारी नियन्त्रण नभए ‘अनलाइन सपिङ’ झनै भद्रगोल हुने बताइन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.