नर्सलाई न्यूनतम पारिश्रमिक नदिने स्वास्थ्य संस्थाहरुमाथि कारबाही हुन्छ : स्वास्थ्यमन्त्री गिरी

माघ १५, २०७९ |कान्तिपुर टीभी संवाददाता
नर्सलाई न्यूनतम पारिश्रमिक नदिने स्वास्थ्य संस्थाहरुमाथि कारबाही हुन्छ : स्वास्थ्यमन्त्री गिरी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्सहरूलाई न्यूनतम पारिश्रमिक नदिने स्वास्थ्य संस्थाहरुमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

काठमाडौंमा आयोजित नेपाल नर्सिङ संघको ६१ औं वार्षिक उत्सवमा आइतबार मन्त्री गिरीले मासिक आठ-दश हजारमा  निजी क्षेत्रमा नर्सहरुले काम गर्नुपर्ने अवस्थाबारे आफू जानकार रहेको बताए । उनले त्यस्ता निजी क्षेत्रका अस्पताल वा स्वास्थ्य संस्थाहरुमाथि अनुगमन गरी कारबाही गर्ने आश्वासनसमेत दिए ।

‘अहिले नर्सहरूले ८ हजार, १० हजारमा पनि निजी क्षेत्रमा काम गर्नुपर्ने अवस्था छ । यो अत्यन्तै चिन्ताको विषय हो । न्यूनतम पारिश्रमिक पनि नदिइ काममा लगाउने र श्रमको शोषण गर्ने कुरा कुनै पनि मूल्यमा ठिक हुन सक्दैन,’ उनले भने, ‘त्यस्ता निजी अस्पताल र स्वास्थ्य संस्थाहरु जहाँजहाँ छन्, मन्त्रालयबाट अनुगमन हुनेछ । र, आवश्यक कारबाही हाम्रो तर्फबाट हुन्छ ।’

मन्त्री गिरीले नर्सहरुको श्रम शोषण गर्ने संस्थाहरुको नवीकरण नहुने र संस्था नै खारेज हुनेतर्फ पनि सचेत गराए । उनले आवश्यक अनुगमन गरेर नर्सहरूले डिजिटल पेमेन्टमार्फत तलब पाउने व्यवस्था मिलाउने प्रतिबद्धतासमेत जनाए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.