गंगालाल अस्पताललाई एकेडेमीका रुपमा विकास गर्नुपर्छ : सांसद पौडेल

माघ १५, २०७९ |कान्तिपुर टीभी संवाददाता
गंगालाल अस्पताललाई एकेडेमीका रुपमा विकास गर्नुपर्छ : सांसद पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गंगालाल अस्पताललाई एकेडेमीका रुपमा विकास गर्न माग गरेका छन् ।

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७औं वार्षिकोत्सव समारोहमा आइतबार उनले सबै अस्पताललाई सेवा प्रदान गर्नसक्ने क्षमताका रुपमा विकास गर्न जरुरी रहेको धारणा राखे । मुटु रोगको उपचार गर्ने जनशक्ति उत्पादन गरी रोगसम्बन्धी अनुसन्धान गर्न आवश्यक रहेको उनको भनाइ छ ।

गंगालाल अस्पताललाई प्रतिष्ठान बनाउनु देशको आवश्यकता रहेको उनले जनाए । उनले गंगालाल अस्पताललाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाइ दक्षिण एसियाको उत्कृष्ट अस्पतालका रुपमा विकास गर्न जरुरी रहेको जनाए । अब पनि औपचारिकतामा मात्रै सीमित रहेर देशको विकास हुन सम्भव नरहेको उनको जिकिर छ ।

‘सबै अस्पतालहरुलाई सेवा प्रदान गर्नसक्ने क्षमता विकास गर्ने स्थिति कसरी विकास गर्न सकिन्छ । लगानीको पक्षबाट, व्यवस्थापनको पक्षबाट, इमानदारीको पक्षबाट हामीले त्यसलाई हेर्न जरुरी छ,’ उनले भने, ‘गंगालाल अस्पताललाई एकेडेमीका रुपमा विकास गर्नुपर्छ । प्रतिष्ठानको रुपमा विकास गर्नुपर्छ । मुटु रोगको उपचार गर्ने जनशक्ति हामीले उत्पादन गर्न आवश्यक छ । त्यसका लागि अनुसन्धान गर्न आवश्यक छ । गंगाललार अस्पताललाई प्रतिष्ठान बनाउन आवश्यक छ, यो देशको आवश्यकता हो ।’

‘अनुसन्धान केन्द्रका रुपमा मुटुरोग उपचारको विशिष्ट अस्पतालको रुपमा दक्षिण एसियाको उत्कृष्ट अस्पतालको रुपमा विकास गर्न जरुरी छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउन जरुरी छ,’ उनले भने, ‘अब औपचारिकतामै सीमित रहेर परिवर्तन गर्न सकिँदैन । आक्रामक ढंगबाट परिवर्तन गर्नुपर्ने स्थिति छ । नागरिकता दिनु मात्रै राज्यको दायित्व होइन, हरेक नागरिकलाई पीडामा, दुःखमा, समस्यामा साथ दिनुपर्छ ।’

सांसद पौडेलले सरकारी कार्यालयहरुमा काम गर्नेहरुको सुविधाबारे राज्यले पुनर्विचार गर्नुपर्ने धारणा राखे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.