बाँकेमा दादुरा नियन्त्रणमा आएन, सुर्खेतमा ५ जनामा संक्रमण

माघ १३, २०७९ |कृपाल गौतम
बाँकेमा दादुरा नियन्त्रणमा आएन, सुर्खेतमा ५ जनामा संक्रमण

बाँके । बाँकेमा दादुराको महामारी अझै नियन्त्रणमा आएको छैन । नेपालगन्ज उपमहानगरबाट सुरु भएको संक्रमण जिल्लाका ८ स्थानीय तहमध्ये ५ वटामा फैलिइसकेको छ। उता सुर्खेतमा पनि ५ जनामा दादुरा संक्रमण देखिएको छ ।

बाँकेमा एक महिना अवधिमा २१९ जनामा दादुरा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये २०८ जना निको भइसकेका छन् भने १० जना घरमै आइसोलेसनमा बसेका छन् । संक्रमणकै कारण १ जनाको मृत्युसमेत भइसकेको छ । तर अझै नियन्त्रणमा नआएको नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतको भनाइ छ ।

संक्रमण नियन्त्रणभन्दा बाहिर जान सक्ने जोखिम देखिएपछि केही दिनअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीसहितको टोली नेपालगन्ज पुगेको थियो । उनीहरुले संक्रमित बालबालिकाको उपचार र थप संक्रमण हुन नदिन निर्देशन दिएर फर्किए । बालबालिकालाई खोप दिने कार्य भइरहेकाले संक्रमण क्रमश: घट्दै जाने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले जनाएका छन् ।

सरकारले बाँकेमा दादुरा महामारी नियन्त्रण हुँदै छ भनिरहँदा सुर्खेतमा समेत संक्रमण देखिएको छ । सुर्खेतका तीन स्थानीय तहमा पाँचजनामा दादुरा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सरकारले २०२३ भित्र दादुरा निवारण गर्ने लक्ष्य राखे पनि संक्रमण यसरी फैलँदै जानुले निर्देशनमात्र भन्दा पनि तयारी र अनुगमनको पाटोमा समेत सरकार गम्भीर हुनुपर्ने देखाउँछ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।