मनमोहनमा नयाँ प्रविधि : आधा सेकेन्डमै सबै अंगको सिटी स्क्यान

कार्तिक २७, २०७९ |कान्तिपुर टीभी संवाददाता
मनमोहनमा नयाँ प्रविधि : आधा सेकेन्डमै सबै अंगको सिटी स्क्यान

काठमाडौ‌ं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान मातहत रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले अत्याधुनिक प्रविधिमार्फत मुटु परीक्षण सेवा सुरु गरेको छ । सेन्टरले मुटु र रक्त नलीका लागि बनेको अत्याधुनिक सिटी स्क्यान मेसिनले आधा सकेण्डमै शरीरका सबै अङ्गको सिटी स्क्यान गर्न सक्ने सेवा सुरु गरेको हो ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले अमेरिकामा निर्मित विश्वमै उत्कृष्ट मानिएको अत्याधुनिक सिटी स्क्यान मेसिनमार्फत् शुक्रबारदेखि यो सेवा सुरु गरेको हो । यो मेसिनले आधा सेकेन्डमै शरीरका सबै अङ्गको सिटी स्क्यान गर्न सक्छ । १८ करोड रुपैयाँ लाग्ने यो मेसिन नेपालमै पहिलो भएको केन्द्रको दाबी छ, साथमा शुल्क पनि न्यून ।

केन्द्रले मुटुको शल्यक्रिया र क्याथ ल्याब उपचार एक साथ गर्न सकिने अत्याधुनिक मेसिन कार्डियो भास्कुलर हाइब्रिड थिएटर पनि सञ्चालनमा ल्याएको छ । २२ करोड लागतमा स्थापना गरिएको यस्तो थिएटर पनि नेपालमै पहिलो हो । यो प्रविधिबाट भारतमा उपचार गर्न २० लाख रुपैयाँभन्दा बढी लाग्छ, त्यसको तुलनामा केन्द्रले न्यून शुल्कमा सेवा प्रदान गर्ने केन्द्रले जनाएको छ । अत्याधुनिक प्रविधिमार्फत उपचार सुरु भएपछि विरामीलाई धेरै राहत पुग्ने सर्वसाधारणको भनाइ छ ।

मुटु, फोक्सो र रक्त नलीको विधामा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आएको केन्द्रले दुई वर्षको प्रयासपछि यी दुई सेवा सुरु गर्न सफल भएको हो ।अब यसलाई सर्वसुलभ बनाउनुका साथै न्यूनतम शुल्कमा सेवा दिने व्यवस्था गर्न आवश्यक छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.