काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुने

आश्विन १३, २०८० |कान्तिपुर टीभी संवाददाता
काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुने

काठमाडौं । नेपालमा पहिलो पटक ‘देउडा आइडल’ आयोजना हुने भएको छ ।

देउडा सांस्कृतिक मञ्चले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंमा उक्त कार्यक्रम आयोजना गर्ने जानकारी गराएको हो । सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा र संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको मिडिया पार्टनरको रुपमा रहेको टिभी टुडे टेलिभिजनका कार्यकारी अध्यक्ष जनकराज पन्तले जनाए ।

‘यो ४/५ वर्षको प्रयासमा कोसिस गरेर यो कार्यक्रम हुन गइरहेको छ । यो कार्यक्रम एकदम सफल हुन्छ भनेर मैले पूर्ण विश्वास लिएको छु ।’ उनले भने, ‘सुदूरपश्चिमको देउडा संस्कृति चिनाउन जुन कोसिस गर्नु भयो । यो पहिलो कार्यक्रम हो । यसले त्यहाँको भाषा र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

देउडा गीत, संगीतलाई स्थानीय स्तरबाट राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म विशिष्ट पहिचान स्थापित हुने खालका कला र गला भएकाहरुलाई कार्यक्रममा सहभागी गराइनेछ ।

कार्यक्रममा लागि सुप्रसिद्ध देउडा गीतका सर्जक नन्दकृष्ण जोशी, तिलक सिंह पेला र टिका पुनलाई निर्णायक मण्डलको रुपमा चयन गरिएको छ । कार्यक्रमको मिति भने अर्को पत्रकार सम्मेलनमार्फत् सार्वजनिक हुने पनि देउडा सांस्कृतिक मञ्चले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.