पल शाह मेरा लागि शाहरुख खान : पूजा शर्मा

माघ २७, २०७९ |कान्तिपुर टीभी संवाददाता
पल शाह मेरा लागि शाहरुख खान : पूजा शर्मा

काठमाडौं । चलचित्र मनसँग मनको विशेष शो गरिएको छ । काठमाडौंमा शुक्रबार एक कार्यक्रमबीच चलचित्रको विशेष शो गरिएको हो । विशेष शोपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री पूजा शर्माले अभिनेता पल शाहको अभावले आफूलाई चलचित्र क्षेत्र नै खल्लो लागेको प्रतिक्रिया दिइन् । उनले पल शाहलाई सबैसँग मिल्ने आलुका रुपमा चित्रित गर्दै पल सहज र सरल व्यक्ति भएको दाबी गरिन् । उनले पल शाहमा कलाकारमा हुनुपर्ने सबै गुण रहेको र आफूलाई चलचित्रमा अभिनय गर्न पनि नरमाइलो लागेको पनि जनाइन् ।

उनले पल शाह आफूलाई बलिउड अभिनेता शाहरुख खान झैँ लाग्ने दाबी गरिन् । ‘पल आलु हो, जसरी आलु सबै तरकारीमा मिल्छ, त्यसरी नै पल पनि नेपाली चलचित्र क्षेत्रमा आलु जस्तै हो, ऊ सबैसँग मिल्छ । मैले पल नहुँदा अहिले धेरै मिस गरिरहेको छु । जोसँग पनि मिल्ने, जोसँग पनि सहज, जो कसैले पनि उसलाई अप्रोच गर्ने, एउटा कलाकारमा हुनुपर्ने गुण छ, पल जस्तो कलाकार हामीले पाउन गाह्रो छ,’ शर्माले भनिन्, ‘अहिले चलचित्र क्षेत्र पलबिना खल्लो भइरहेको जस्तो भएको छ । म आफैंलाई पनि रमाइलो लागेको छैन । पल मलाई शाहरुख लाग्छ, पललाई देख्दा म शाहरुख नै देख्छु ।’

कार्यक्रममा अभिनेता पुष्प खड्काले यसअघिका फिल्ममा फिल्म नचलेपछि पैसा फिर्ता गर्नुभएको थियो, यो फिल्ममा के गर्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा सबै फिल्म नचल्दैमा पैसा फिर्ता गर्ने हो भने घरखेत बेच्नुपर्ने भन्दै ठट्टा गरे । उनले पहिलो फिल्ममा पैसा फिर्ता गरेको कारण कोरोनाको महामारी रहेको आर्थिक उपार्जन हुन नसकेकाले पैसा फिर्ता गरेको जनाए ।

‘सबै फिल्म चलेन भने पैसा फिर्ता गर्छु भन्दा त भएको घर खेत नै बेचेर आउनुपर्छ । पहिलो फिल्म कोरोनाको थियो, सो बेलामा चलचित्र चल्ने र व्यापार गर्ने सम्भावना कम नै थियो त्यसलाई मध्यनजर गरेर नै मैले त्यो निर्णय लिएको हुँ,’ उनले भने ।

आज (शुक्रबार) बाट प्रदर्शन भएको चलचित्रमा कलाकारहरु पुष्प खड्का र वर्षा शिवाकोटीका साथै फिल्ममा पल शाह र पूजा शर्माले एउटा गीतमा नृत्य गरेका छन् । फिल्ममा वर्षा र पुष्पको अलवा बुद्धि तामाङ, रवीन्द्र झाको मुख्य भूमिका छ । सौरभ इन्टरटेन्मेन्ट र बालाजी इन्टरटेन्मेन्टको प्रश्तुतिमा तयार भएको यो फिल्मलाई कैलाश राईले निर्देशन गरेका हुन् ।

फिल्ममा अरुण तामाङको लगानी छ । अर्जुन जीसीको सम्पादन रहेको फिल्ममा सौरभ लामाको छायांकन, रामजी लामिछाने र कमल राईको कोरियोग्राफी, कैलाश राईको कथा तथा पटकथा छ । फिल्ममा अर्जुन पोखरेल, अगोमा गुरुङ र दीपक शर्माको संगीत छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.