स्वास्थ्य बिमा रकम प्राप्त गर्ने पहिलो कलाकार बने रामचन्द्र अधिकारी

पुस १३, २०७९ |कान्तिपुर टीभी संवाददाता
स्वास्थ्य बिमा रकम प्राप्त गर्ने पहिलो कलाकार बने रामचन्द्र अधिकारी

काठमाडौं । विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बिमाको लाभ लिने पहिलो व्यक्ति वरिष्ठ कलाकार रामचन्द्र अधिकारी बनेका छन् । उनले दाबी गरेअनुरुप राष्ट्रिय बिमा कम्पनीले उपलब्ध गराएको ४६ हजार ६ सय रुपैयाँ बुधबार बोर्डका अध्यक्ष भुवन केसीले प्रदान गरे ।

विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई बोर्डले विभिन्न किसिमका सुविधा प्रदान गर्ने योजनाअनुरुप स्वास्थ्य बिमाको कार्यक्रम ल्याएको थियो । कार्यक्रमअन्तर्गत विशिष्ट परिचयपत्र प्राप्त गर्ने १०२ चलचित्रकर्मीमध्ये ९८ जनाको बिमा गरिएको थियो । बिमा कार्यक्रममा सहभागी प्राविधिक उद्धवराज भट्टराईको निधन भइसकेको छ भने परिचयपत्र प्राप्त गरेका कलाकार हरिप्रसाद रिमाल, लेखक/निर्देशक चेतन कार्की, कलाकार सुभद्रा अधिकारी र प्राविधिक गेहेन्द्र धिमालको बिमा कार्यक्रम सुरु हुनुअगावै निधन भइसकेको थियो ।

चालु बिमा कार्यक्रमअन्तर्गत अस्पतालमा भर्ना भई उपचार गर्नुपर्दा ६५ हजार रुपैयाँ र भर्ना नभई उपचार गर्नुपर्दा ३५ हजार रुपैयाँसम्म गरी जम्मा एक लाख रुपैयाँ प्राप्त गर्न सकिन्छ । राष्ट्रिय बिमा कम्पनीका प्रतिनिधि धर्म भण्डारीले यो बिमा सुविधा लिनयोग्य सबैलाई रकम दाबी गर्न अनुरोध गरे । बिमा गरेको ६-७ महिनामा बल्ल एकजनाले दाबी गरेको बताउँदै भण्डारीले थोरै नै रकम भए पनि दाबी पेस गरेपछि चौबीस घण्टाभित्र बोर्डमा उक्त रकम उपलब्ध गराउने बताए ।

बिमा रकम प्राप्त गर्दै कलाकार अधिकारीले चलचित्र विकास बोर्डलाई धन्यवाद दिए । ‘चलचित्र विकास बोर्डले चलचित्रकर्मीलाई गरेको यो सहयोग एक जीवनदानका रुपमा मैले हेरेको छु । यो सुविधा आवश्यक पर्दा सबैले सजिलै पाउन सकून्,’ चेक बुझ्दै अधिकारीले भने, ‘हाम्रो दु:ख बुझ्ने कलाकार नै अध्यक्षका रुपमा आउनुभएको छ । हामीलाई अझै धेरै भरोसा पलाएको छ ।’

बोर्ड अध्यक्ष भुवन केसीले सानो रकमले धेरै समस्या समाधान नहुने भए पनि यो एउटा सुरुवात भएको बताए । ‘सकेसम्म कसैलाई पनि स्वास्थ्य समस्या नआओस् तर पनि त्यो कुरा हाम्रो हातमा हुँदैन । यति रकमले त केहि पनि हुँदैन यद्यपि यो एउटा सुरुवात हो,’ उनले भने, ‘योभन्दा ठूला घटना भइहाले पनि त्यसमा केही गर्न सकौँ भनेर बोर्ड सँधै संवेदनशील छ ।’

कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, सञ्चारकर्मी तथा निर्देशक दिनेश डीसी, नायिका पूजा शर्मा, बोर्ड सदस्य प्रकाश भट्टराईलगायतको उपस्थिति थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.