हेरिटेज प्याजेन्टस्‌मा नेपालकी परिन्दा र परिसालाई अवार्ड

मंसिर ९, २०७९
हेरिटेज प्याजेन्टस्‌मा नेपालकी परिन्दा र परिसालाई अवार्ड

काठमाडौं । हेरिटेज प्याजेन्टस् २०२२ अन्तर्गत मलेसियाको क्वालालम्पुरमा भएको मिस एन्ड मिसेस् हेरिटेज इन्टरनेसनल २०२२ मा नेपालका तर्फबाट प्रतिनिधित्व गरेका परिन्दापरी श्रेष्ठ र परिसा रानाभाटलाई विधागत अवार्ड प्राप्त भएको छ । प्रतियोगितामा मिसेसतर्फकी सहभागिता परिन्दा मिसेस् एलिगेन्स विधामा विजेता चयन भएकी हुन् । मिसतर्फकी सहभागी परिसाले मिस मल्टिमिडिया अवार्ड जित्न सफल भएकी हुन् ।

इप्लानेट प्रालिको आयोजना तथा सीएमके ब्युटी इम्पावर सर्भिसेसको सहकार्यमा भएको पाँचौं संस्करणको हेरिटेज प्याजेन्टस्‌मा मिसतर्फ रसियाकी ३० वर्षीया एना किरिलिना मिस हेरिटेज इन्टरनेसनल २०२२ का रुपमा विजेता चयन भइन् । मंगोलिया, इन्डोनेसिया, लात्भिया र मलेसियाका सुन्दरीहरु क्रमशः फस्ट, सेकेन्ड, थर्ड तथा फोर्थ रनर्स अप छनोट भएका थिए ।

मिसेसतर्फ भने थाइल्यान्डकी ३९ वर्षीया फोन्टिप श्रीवारन्यु मिसेस् हेरिटेज इन्टरनेसनल २०२२ का रुपमा चयन भइन् । मिसेसतर्फ नेदरल्यान्ड्स, भारत, सिंगापुर तथा फिलिपिन्सका मिसेस सहभागी क्रमशः फर्स्ट, सेकेन्ड, थर्ड तथा फोर्थ रनर्स अपका रुपमा चयन भएका थिए ।

मुख्य उपाधि रसिया र थाइल्यान्डका सुन्दरीलाई

प्रतियोगिताको प्रस्तुतिहरुको निर्देशन नेपाली कोरियोग्राफर रोजिन शाक्य र मलेसियाका वेस्ली सअले संयुक्त रुपमा गरेका थिए । कार्यक्रमको उद्घोषण रोजिन र भारतीय सिम्रन अहुजा गरेका हुन् ।

प्रतियोगिताको निर्णायक मण्डलमा नेपालका विमल सुवेदी, मलेसियाका थालिएन थिन, नोरिन जुलकरनेन, सब्रिना लिम, क्यारोल ली, डाटो स्टेफनी लो र वर्ल्ड ब्युटी प्याजेन्टस् अर्गनाइजेसनका संस्थापक अध्यक्ष सानी अबी नाडर सम्मिलित थिए ।