समानुपातिकतर्फका सांसदहरु निर्वाचित भएको घोषणा मंसिर २६ मा हुने

मंसिर २४, २०७९ |कान्तिपुर टीभी संवाददाता
समानुपातिकतर्फका सांसदहरु निर्वाचित भएको घोषणा मंसिर २६ मा हुने

काठमाडौं । निर्वाचन आयोगले मंसिर २६ गते (सोमबार) सम्म समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ ।

राजनीतिक दलहरुले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सह-सचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए । हालैसम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा एमालेले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ सिट संख्या प्राप्त गरेका थिए ।

निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसदहरु पनि निर्वाचित भएको एक सातभित्र निर्वाचनसम्बन्धी सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने स्पष्ट पारेको छ । आयोगका सहसचिव भट्टराईले समानुपातिकतर्फको पनि सांसदहरु निर्वाचित भएको घोषणा भएको मितिले सात दिनभित्र राष्ट्रपतिसमक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन बुझाइसक्नुपर्ने कानुनी व्यवस्था भएकाले सोहीअनुसार काम गर्ने बताए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.