रहेनन् साहित्यकार कृष्ण जोशी

मंसिर १३, २०७९ |कान्तिपुर टीभी संवाददाता
रहेनन् साहित्यकार कृष्ण जोशी

काठमाडौं । साहित्यकार कृष्ण जोशीको ८३ वर्षको उमेरमा निधन भएको छ । सामान्य बिरामी भएर प्रदर्शनीमार्गस्थित मोडल अस्पताल भर्ना भएका जोशीको सोमबार राति निधन भएको वासु शशि स्मृति परिषद्‌का सचिव कवि प्रद्युम्न जोशीले जानकारी दिए ।

सरकारी सेवाबाट अवकाश प्राप्त जोशी परिषद्‌का सल्लाहाकार थिए । जोशी उपन्यास, कविता र गीत लेखनमा प्रतिष्ठित मानिन्छन् । उनको २०३४ सालमा प्रकाशित 'मृत्यु दोहोरिन्छ म बाँचे भने' उपन्यास चर्चित छ । उनका कविताका आधा दर्जन कृति प्रकाशित छन् । उनले प्रशासनिक विषयमा समेत पुस्तक लेखेका छन् ।

जोशीको मंगलबार नै पशुपति विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । त्यस अवसरमा साहित्यकार कलाकार र परिवारका सदस्यहरुको बाक्लो उपस्थिति थियो । कलाकार मदनदास श्रेष्ठ, साहित्यकार राधेश्याम लेकाली, शैलेन्द्र साकार, नरेन्द्रराज प्रसाई, एलिशा ढुंगाना, अनुपम रोशी, ठाकुर वेल्वासेलगायत पशुपति पुगेर जोशीलाई श्रद्धाञ्जली दिएका थिए । जोशीका चार छोरा र श्रीमती छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.