छलफलले निष्कर्ष निकालेन, उदयपुरको मतगणना फेरि रोकियो

मंसिर १२, २०७९ |भोटराज राई
छलफलले निष्कर्ष निकालेन, उदयपुरको मतगणना फेरि रोकियो

उदयपुर । उदयपुर १ प्रतिनिधिसभाको रोकिएको मतगणना अगाडि बढाउन भन्दै सोमबार दिउँसो बसेको सर्वदलीय बैठक विनानिष्कर्ष टुंगिएपछि पुन: स्थगित भएको छ ।

मुख्य निर्वाचन अधिकृतले राखेको छलफल मतगणना गर्ने गरी निष्कर्ष ननिस्केपछि पुन: स्थगित भएको हो । बैठक सकिएपछि नेकपा एमालेका उम्मेदवार र प्रतिनिधिहरु गणनास्थलबाटै बाहिरिए भने गठबन्धनकाहरुले न्यायोचित निर्णयको माग राखेर बसेका छन् । अब अनिर्णयको बन्दी भएर नबस्ने भन्दै उनीहरु धर्ना बसे ।

आफैंले निर्णय दिनसक्ने कुराहरु अनावश्यक छलफल र आयोगमा पठाउने गरेर विवाद टुंग्याउनुको सट्टा अनिर्णयको बन्दी बनाउने काम भइरहेको उनीहरुको ठहर छ ।

पटक-पटक छलफल निष्कर्षहीन हुनु र ढिलासुस्ती हुनुमा मुख्य निर्वाचन अधिकृत दोषी रहेको नेपाली कांग्रेस जिल्ला सभापतिसमेत रहेका उदयपुर प्रदेशसभा क्षेत्र १ (१) का विजयी उम्मेदवार हिमाल कार्कीको आरोप छ । प्रदेशसभाको अन्तिम मत परिणाम सार्वजिक भएको चारदिनसम्म पनि विजयीलाई प्रमाणपत्र रोकेर पराजय स्वीकारिसकेका उम्मेदवारहरुलाई फिल्डमा उतार्दै मुठभेड र दंगाको स्थिति सिर्जना गरेको आरोप लगाए ।

अनिर्णयको बन्दी नबनाउन गठबन्धनको दबाब, पुन: मतदानको मागमा एमाले अडिग

नेकपा एमालेले पुन: मतदानको मागलाई कायमै राखेको छ । एमालेका प्रदेशसभा १ (२) का उम्मेदवार ईश्वरमणि राउतले मतदानमा धाँधलीको आशंका गर्दै पुन: मतदानको माग राखे ।

छलफलमा सहमति नजुटेको र निर्वाचन आयोगबाट प्राप्त पत्रले स्पष्ट निर्णय लिन नसकिएपछि पुन: गणना स्थगित भएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताए । विवादको अन्त्य र निष्कर्षका लागि पहल भइरहेको उनले बताए ।


Image

भोटराज राई

राई कान्तिपुर टीभीका उदयपुर संवाददाता हुन् ।