एमालेले सरकार नेतृत्वको पहल थाल्छ : पौडेल

मंसिर १२, २०७९ |अमृता अनमोल
एमालेले सरकार नेतृत्वको पहल थाल्छ : पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले सरकारको नेतृत्वका लागि पहल गर्ने बताएका छन् । निर्वाचनबाट कसैको बहुमत नआएकाले पार्टीले बहुमत नल्याए पनि एमालेले सरकारको नेतृत्व गर्न पहल थाल्ने बताए ।

प्रेस चौतारी रुपन्देहीले बुटवलमा सोमबार गरेको पत्रकार भेटघाटमा उनले एमालेले मात्रै देशलाई सही ढंगले अघि बढाउन सक्ने दाबी गरे। 'राजनीतिक स्थायित्व, विकास र समृद्धिका एजेन्डा लिएर एमाले चुनावमा गएको हो, एजेन्डाका हिसाबले एमालेले बहुमत पाउनुपर्ने हो तर पाएन,' उनले भने ।

उपाध्यक्ष पौडेलले भने बहुमत सरकार बनाउने जनमत नपाए पनि एमाले प्यासिभ भएर नबस्ने बरु सशक्त भूमिका खेल्ने बताए । उनले भने, 'हामी जनादेशको सम्मान गर्नेछौं, बहुमत आएन । एमालेले लिड रोल नगर्दासम्म देश अघि बढ्न सक्दैन, विकासले गति लिन सक्दैन । सकेसम्म नेतृत्व प्रदान गर्ने गरी पहलकदमी लिन्छ ।’

उपाध्यक्ष पौडेलले कुनै दलको बहुमत न आउनु दुर्भाग्यपूर्ण भएको बताए । उनले भने, 'कुनै दलको प्रतिकूल प्रभाव, अस्थिरताको चक्रब्यूहमा फस्ने, कुनै न कुनै दलको बहुमत आउनुपर्थ्यो, नेकपा एमालेले सरकारको नेतृत्व नगर्दासम्म देशले सही निकास पाउँदैन ।' रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पौडेलले यसपटकको चुनावमा एमालेलाई किनारामा पार्ने धेरै कोसिस भएको बताउँदै अब जनमतको कदर गरेर अगाडि बढ्ने बताए ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।