दोलखाको १० मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान

मंसिर १२, २०७९ |कान्तिपुर टीभी संवाददाता
दोलखाको १० मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान

काठमाडौं । दोलखा जिल्लाको दशवटा मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय गरिएको छ । सोमबार बिहान बैठक बसेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय गरेको हो । यसअघि आइतबार निर्वाचन आयोगले मंसिर १५ गते निर्वाचन गर्न निर्देशन दिएको थियो । सोही निर्देशन बमोजिम मतदानको मिति तय गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मंसिर ४ गते भएको मतदानका क्रममा दोलखाका दश मतदान केन्द्रमा अनधिकृत कब्जा गरेको पाइएपछि आयोगले पुनः मतदान गर्ने निर्णय गरेको हो ।

बुथ कब्जा गरिएको भनेर आयोगमा उजुरी परेपछि आयोगको एक टोलीले स्थलगत अध्ययन गरेको थियो । उक्त टोलीको सिफारिसका आधारमा आयोगले पुनः मतदान गराउने निर्णय लिएको हो ।

सिफारिसका आधारमा वैतेश्वर गाउँपालिका वडा नम्बर ६ वैतेश्वर मावि मतदान केन्द्र (क, ख र ग) मा पुनः मतदान हुने भएको छ ।

त्यस्तै सोही पालिकाको वडा नम्बर २ जनज्योति माविका दुई मतदान केन्द्र र तामाकेशी गाउँपालिका ३ जफे हेल्थपोष्ट मतदान केन्द्रका दुई बुथमा पनि पुनः मतदान हुने छ । बैतेश्वरकै कालिढुंगा माविका क, ख र ग सहित १० मतदान केन्द्रमा पुनः मतदान हुनेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.