‘एमालेको सरकार बने श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउँछौं’

मंसिर ११, २०७९ |कान्तिपुर टीभी संवाददाता
‘एमालेको सरकार बने श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउँछौं’

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद रिमालले एमालेको सरकार बने श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने बताएका छन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले पाँचौं सामाजिक सुरक्षा दिवसका अवसरमा आइतबार काठमाडौंमा गरिएको कार्यक्रममा उनले एमालेको सरकार बने चुनावी घोषणापत्रबमोजिम श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने बताए । उनले सरकारमा एमाले नभए श्रमिकको पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउन आन्दोलन गर्ने पनि बताए ।

उनले निर्वाचनको मतगणना भइरहेको उल्लेख गर्दै चार, पाँचवटा सिटले मात्रै कांग्रेस र एमालेबीच पहिलो र दोस्रो शक्ति हुने बताए । उपमहासचिव रिमालले एमालेको पपुलर भोट ३२ लाख पुग्ने र पपुलर भोटमा एमाले पहिलो पार्टी बन्ने बताए । ‘चुनाव सकिँदै छ । चार, पाँचवटा सिट हार, जितले हामी दोस्रो बन्ने कि पहिलो बन्ने भन्ने तय हुँदै छ । पपुलर भोटमा त हामी नम्बर एक हुन्छौँ । यसमा कुनै शंका छैन । अहिले पनि हामीलाई २२, २३ लाखभन्दा बढी पपुलर भोट प्राप्त भइसकेको छ । केही लाख बढ्नेवाला छन्,’ उनले भने ।

उनले आफूहरु सरकारमा रहे औपचारिक क्षेत्रका शतप्रतिशत श्रमिकलाई सामाजिक सुरक्षामा ल्याउने बताए । पाँच वर्षभित्रमा अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकलाई पनि सामाजिक सुरक्षा प्रणालीभित्र ल्याउने उनको भनाइ छ । सामाजिक सुरक्षा औपचारिक र अनौपचारिक दुवै क्षेत्रका लागि भएकाले दुवै क्षेत्रमा बराबरी रुपमा लागु हुनेपर्ने उनले बताए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.