बैतडीमा एमालेका दामोदर भण्डारी विजयी

मंसिर ८, २०७९
 बैतडीमा एमालेका दामोदर भण्डारी विजयी

बैतडी । बैतडी १ मा एमालेका उम्मेदवार दामोदर भण्डारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

भण्डारीले गठबन्धनका साझा उम्मेदवार नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) लाई १ हजार ५३१ मतान्तरले पराजित गरेका हुन् । भण्डारी र कुँवरको यो दोस्रो प्रतिस्पर्धा हो ।

०७० सालमा बैतडी क्षेत्र नं. १ मा प्रतिस्पर्धा गरेका भण्डारी र कुँवर ०७४ को निर्वाचनमा वाम गठबन्धनका कारण एक अर्काका सारथी बनेका थिए । यस पटकको निर्वाचनमा एमालेबाट भण्डारीले ३३ हजार ६११ मत पाउँदा कुँवरले ३२ हजार ८० मत प्राप्त गरेका छन् ।

भण्डारी पूर्व अर्थराज्यमन्त्री एवं नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष हुन् भने कुँवर नेकपा माओवादी केन्द्रको बैतडी इन्चार्ज हुन् । बैतडीमा प्रतिनिधिसभाका लागि ७८ हजार ३ सय ६९ मत खसेको थियो । जसमध्ये ४ हजार ९६२ मत बदर भएको छ ।

बैतडी प्रदेश (१) मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाल विजयी भएका छन् भने प्रदेश (२) मा नेपाली कांग्रेसका शिवराज भट्टले जित हात पारेका छन् ।