बाईबाई ४० दिने जागिर ! (फोटो फिचर)

मंसिर ८, २०७९ |श्याम श्रेष्ठ
बाईबाई ४० दिने जागिर ! (फोटो फिचर)

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको सुरक्षाका लागि भर्ना भएका म्यादी प्रहरीलाई बिहीबार बिदाइ गरिएको छ । एकाध घटनाबाहेक निर्वाचन सुरक्षित रुपमा सम्पन्न गराउन म्यादी प्रहरीको भूमिका सशक्त रह्यो । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा सुरक्षाको पहिलो घेरामा बसेर चुनाव सफल बनाउन खटिएका एक लाख १५ हजार म्यादी प्रहरीलाई बिहीबारबाट बिदा भएका हुन् ।

देशैभरका म्यादी प्रहरीलाई कदर तथा प्रशंसापत्र र पारिश्रमिक दिएर बिदाइ गरिएको हो । ४० दिनका लागि म्यादी प्रहरीमा भर्ना भएकाहरु पनि आत्मीयता साट्दै बिदा भएका छन् । बिदाइका क्रममा उनीहरु केहीबेर भावुकसमेत बने ।

४० दिन म्यादी प्रहरीमा सेवा गरेकी जाजरकोटकी तारा शाही बिदाइका अवसरमा निकै खुसी देखिइन् । जाजरकोटबाट कामकै लागि काठमाडौं आइपुगेकी उनका लागि म्यादीको अनुभव जीवनकै अविस्मरणीय रह्यो । उनले प्रशंसापत्र बुझ्दै भनिन्, ‘बाइबाइ ४० दिने जागिर ।’

नेपाल प्रहरीका जवानले पाएसरहको सेवा-सुविधा पाउने सर्तमा म्यादी प्रहरी बनेका उनीहरूलाई बिदाइ गरिएको हो ।

मकवानपुरकी सुमित्रा घलानले मेकअप आर्टिस्टको सीप सिके पनि प्रहरीको जागिर खाने रहर म्यादीबाटै पूरा गरिन् । ४० दिनमा उनले सबैभन्दा धेरै अनुशासन लिएर फर्किन लागेको बताउँछिन् । निर्वाचन गराउँदा राष्ट्रसेवकको अनुभवले निकै महत्त्व राख्ने उनको विश्वास छ । सर्लाहीका राजेश महतो पनि हातमा प्रमाणपत्र लिँदा निकै उत्साही थिए । म्यादी प्रहरी बनेर काठमाडौंको निर्वाचन सुरक्षित बनाउने भूमिकाले उनले पनि इमानदार भएर पूरा गरे ।

बिदाइका बेला तालिम दिने अधिकृतले म्यादीहरुलाई समाजमा गएर सेवा गर्न आग्रह गरे । प्रहरीको बदनाम हुने काम नगर्न सुझाव दिँदै काठमाडौंको प्रहरी क्लबमा बिदाइ गरिएको थियो । 


Image

श्याम श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका वरिष्ठ क्यामेरा पर्सन हुन् ।