ब्रिजकोर्स बन्द गर्ने निर्णयमा अन्योल : शिक्षा मन्त्रालयको विज्ञप्ति किन हटाइयो ?

चैत्र १६, २०८२ |नारायण किलम्बू
ब्रिजकोर्स बन्द गर्ने निर्णयमा अन्योल : शिक्षा मन्त्रालयको विज्ञप्ति किन हटाइयो ?

काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालयदेखि विश्वविद्यालयसम्मका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिजकोर्स बन्द गर्ने निर्णय गरेपछि यसबारे विभिन्न कोणबाट बहस सुरु भएको छ । 

आगामी वैशाख १ देखि लागू गरिने यो निर्णयपछि विद्यार्थीहरु अन्योलमा छन् । तर, निर्णयको केही घन्टा नबित्दै मन्त्रालयले आफ्नो वेबसाइटबाट विज्ञप्ति नै हटायो । मन्त्रालयको वेबसाइटबाट विज्ञप्ति किन हटाउने अवस्था आयो ? प्रवेश परीक्षा तयारी कक्षा र ब्रिजकोर्ष कुन-कुन तहका लागि बन्द गरिएको हो ?

शिक्षा मन्त्रालयले आइतबार विद्यालय तहदेखि उच्च शिक्षासम्मका विभिन्न तहमा भर्नालक्षित तयारी कक्षा र ब्रिजकोर्सहरु वैशाख १ गतेबाट बन्द गर्न निर्देशन दिँदै विज्ञप्ति जारी गर्यो । निर्देशनअनुसार नगर्नेलाई कारबाही गर्ने चेतावनीसमेत मन्त्रालयले दियो । तर, सोमबार शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सामाजिक सञ्जालमा कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गरी केही अतिरिक्त तयारी कक्षा सञ्चालन गर्ने निर्णय गरिएको उल्लेख गर्नुभयो ।

मन्त्री र मन्त्रालयका छुट्टाछुट्टै अर्थ लाग्ने भनाइले विद्यार्थी र सरोकारवालाहरूमा अन्योल भइरहेको अवस्थामा मन्त्रालयले विज्ञप्ति वेबसाइटबाटै हटायो ।

आखिर के हो त सरकारी निर्णय ?

मन्त्रालयले चैत १३ गतेको मन्त्रीस्तरीय निर्णय भन्दै विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्नालक्षित प्रवेश परीक्षा तयारी कक्षा र ब्रिजकोर्सका नाममा विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका कार्यक्रम वैशाख १ गतेदेखि बन्द गर्ने निर्णय गरेको जनाएको हो । 

यस्ता कक्षाले विद्यार्थीमा नकारात्मक प्रभाव पारेको र अभिभावकमा समेत अनावश्यक बोझ सिर्जना गरेकाले यस्तो निर्णय लिइएको मन्त्रालयको भनाइ छ । विद्यालयदेखि उच्च शिक्षासम्मै तयारी कक्षा र ब्रिजकोर्स सञ्चालन गर्ने संस्थाहरु देशभर कति छन्, कुनै यकिन तथ्यांक छैन । तर, सरकारमा दर्ता भएका शैक्षिक परामर्शदाता संस्थाहरु करिब ८ सय छन् ।

यो निर्णयले विद्यार्थी र संस्था सञ्चालकहरु अन्योलमा देखिएका छन् । तयारी कक्षा र ब्रिज कोर्षका नाममा बेथिति बढेपछि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटीइभीटीले यसै वर्षबाट नर्सिङ एचए इन्जिनियरिङ लगायतका विषयमा भर्नाका लागि एसईईको प्राप्तांकलाई आधारमा मानेर भर्ना गर्न सुरु गरिसकेको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।