
ललितपुर । ललितपुर महानगरपालिकामा अवस्थित नेस्फिल्ड इन्टरनेशनल कलेजले व्यापार, समाज प्रविधिसम्वद्ध समसामयिक मामला शीर्षकमा दुई दिने राष्ट्रिय विद्यार्थी सम्मेलन आयोजना गरेको छ। ललितपुर भएको उद्घाटन सत्रको अध्यक्षता कलेज व्यवस्थापन समतिका अध्यक्ष प्रा. डा. सन्तोषराज पौडेलले गर्नुभएको थियो।
दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा देशभरीका विभिन्न विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीले व्यापार, समाज र प्रविधिसम्वद्द विभिन्न विषयमा तयार पारेका अनुसन्धान पत्र प्रस्तुत गर्नेछन । सम्मेलनका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालका उपकुलपति प्रा.डा. दिपक अर्यालले उच्च शिक्षाको लागि ठुलो संख्यामा बिद्यार्थी बाहिरिने अवस्थाको अन्त्य गर्नको लागि बदलिँदो समय अनुसार विश्वविद्यालयको पाठ्यक्रममा सुधार गर्नुपर्ने बताउनुभयो ।
प्रकाश गौतमको सहजीकरणमा सम्पन्न प्यानल छलफलमा प्रा.डा. गजेन्द्र शर्मा, सह प्रा. डा. जीतेन्द्र डंगोल, डा. महेन्द्र सापकोटा, डा. सुनिल चित्रकार र श्री गोमा तिवारीले उपर्युक्त विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए।
वक्ताहरुले प्रविधिको सदुपयोग गर्नुपर्ने, कृतिम बुद्दिमताले खडा गरेका चुनौतीको सामना गर्नुपर्ने, अनुसन्धानलाई व्यावहारिक र वस्तुपरक बनाउनुपर्ने, बजार सुहाउँदो शिक्षण पद्दति अवलम्बन गर्नुपर्ने जस्ता कुरामा जोड दिए।
विश्वविध्यालय अनुसन्धान आयोगबाट सन् २०२५ मा क्यु ए ए प्राप्त कलेजले अघिल्लो वर्ष राष्ट्रिय सम्मेलन आयोजना गरेको र स्थापनाकालदेखि नै अनुसन्धान जर्नल प्रकाशन गर्दै आएको भाइस प्रिन्सिपल कमल केसीले बताउनुभयो।