आन्दोलनरत शिक्षक र सरकारको हठले १२ कक्षाको परीक्षा नै अन्योलमा

वैशाख ७, २०८२ |नारायण किलम्बू
आन्दोलनरत शिक्षक र सरकारको हठले १२ कक्षाको परीक्षा नै अन्योलमा

काठमाडौं । १९ दिनदेखि अनिश्चितकालीन शैक्षिक हडतालमा उत्रिएका शिक्षकहरु र सरकार आ-आफ्नै अडानमा रहँदा बैशाख ११ देखि सञ्चालन हुने कक्षा १२ को परीक्षासमेत अन्योलमा परेको छ । यसबाहेक विद्यार्थी भर्ना र पठनपाठनसमेत प्रभावित भएको छ । आन्दोलनको नेतृत्वकर्ता शिक्षक महासंघ र सरकारबीच पटक–पटक छलफल भए पनि तीन साता हुन लाग्दासमेत औपचारिक वार्ता हुन सकेको छैन ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा बैशाख ११ गतेदेखि सञ्चालन गर्ने कार्यतालिका छ । ५ लाख ५० हजार परीक्षार्थीका लागि १५ सय ९१ वटा परीक्षा केन्द्र पनि निर्धारण गरिएको छ । तर, सामुदायिक विद्यालयका शिक्षक-कर्मचारीको काठमाडौंकेन्द्रित अनिश्चितकालीन शैक्षिक हड्तालका कारण परीक्षा नै प्रभावित हुने देखिएको छ । 

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्षको अभिमुखीकरण, निरीक्षक, जनशक्ति व्यवस्थापनदेखि विद्यार्थीलाई प्रवेशपत्र वितरणसम्मका सबै काम यतिखेरसम्म सकिसक्नुपर्ने थियो । यी काम अहिलेसम्म हुन नसकेको र परीक्षामै सहभागी नहुने शिक्षक-कर्मचारीको अडानले साढे ५ लाख विद्यार्थी सहभागी हुने कक्षा १२ को परीक्षा अन्योलमा परेको हो ।

यतिमात्र होइन स्थानीय तहहरुले नयाँ शैक्षिक सत्रको एक सातापछि सञ्चालन गर्नुपर्ने कक्षा ८ को ग्रेड वृद्धि परीक्षासमेत देशभर प्रभावित भएको छ । देशभरको शैक्षिक स्थिति नै अस्तव्यस्त भए पनि सरकार भने शिक्षकका मागप्रति उदासीन छ । शिक्षक महासंघ भने माग पूरा नभएसम्म विद्यालयको कुनै पनि गतिविधिमा संग्लन नहुने अडानमा छ । शिक्षा ऐन नआएसम्म सडक आन्दोलनलाई निरन्तरता दिने घोषणा शिक्षकहरुको छ ।

शिक्षकहरुको आन्दोलन र परीक्षा नै हुने-नहुने अन्योलको स्थितिले परीक्षाको तयारीमा रहेका विद्यार्थीहरु मनोवैज्ञानिक रुपमा दबाबमा छन् । यस्तो परिस्थितिमा कक्षा १२ को परीक्षादेखि विद्यालय तहको ग्रेडवृद्धि र पठनपाठनसम्मको वातावरण सृजना गर्न सरकार र आन्दोलनरत शिक्षकलाई परीक्षा बोर्डले आग्रह गरेको छ ।

कक्षा १२ को परीक्षा प्रभावित भए आगामी वर्षको विद्यालयदेखि विश्वविद्यालयसम्मको शैक्षिक क्यालेन्डर नै प्रभावित हुन्छ । त्यसैले आन्दोलनरत शिक्षक र सरकार दुवै लचिलो हुन आवश्यक छ, आ-आफ्नै अडानमा रहने हो भने दुवै पक्ष गैरजिम्मेवार ठहरिनेछन् ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।