किताबमा रमाइरहेछन् धुम्बाराहीका बालबालिका

कार्तिक २५, २०८१ |मुरारी घिमिरे
किताबमा रमाइरहेछन् धुम्बाराहीका बालबालिका

काठमाडौं । शनिबारको दिन तपाईंका नानीबाबु के गर्छन् ? ‘उही त हो, दिनभरि मोबाइल र ट्याबमै झुन्डिन्छन्,’ आजभोलि धेरै अभिभावकको गुनासो यस्तै सुनिन्छ ।

काठमाडौंको धुम्बाराहीका केही बालबालिका भने पाँच महिनादेखि धुम्बाराही मन्दिर परिसरमा भेला हुने गरेका छन् । बिहान ९ बजेदेखि ११ बजेसम्म यहाँका बालबालिका किताबसँग रमाइरहेका हुन्छन् ।

छुट्टीको दिन बालबालिका धुम्बाराहीस्थित मन्दिर परिसरमा किताबमा झुम्मिइरहेका भेटिन्छन् । अरू दिन नियमित पढाइका काम र ग्याजेटमा व्यस्त हुने उनीहरू शनिबार भने बालकथा, उपन्यास, हास्य र कमिक लगायतका पुस्तकमा रमाइरहेका हुन्छन् । मन परेका पुस्तक घरै लगेर पढ्ने पनि हुन्छन् । यति मात्र होइन बालबालिकाको मानसिक विकासमा मद्दत पुर्‍याउने विभिन्न क्रियाकलाप पनि हुने गर्छ ।

धुम्बाराही बाल पुस्तकालय नाम दिएर यो जमघटको चाँजोपाँजो पनि बालबालिकाले नै गरेका हुन् । आफूले सानैदेखि पढेका किताब अरूले पनि पढुन् भनेर १० कक्षामा अध्ययन गर्ने दिदी स्कन्दा स्वाँर र ५ कक्षामा अध्ययन गर्ने भाइ सहर्ष स्वाँर मिलेर यो पुस्तकालय सुरु गरेका हुन्। 'समुदायका बालबालिकाको सृजना समुदायका बालबालिकाका लागि' अभियानले बालबालिकाहरू निकै नै लाभान्वित भइरहेका छन् । 

पुस्तकालय सुरु भएसँगै आफ्ना नानीबाबुले नयाँ नयाँ पुस्तक पढ्न पाएकोमा अभिभावकहरू समेत खुसी छन् । 

समुदायमा बालबालिकाका लागि यस्ता पुस्तकालय मात्र होइन, ज्ञानवर्धक र मनोरञ्जनात्मक गतिविधिको व्यवस्था गर्न सके उनीहरूको सामाजिकीकरणमा पनि सहयोग पुग्ने विश्वास गर्न सकिन्छ । 


Image

मुरारी घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement