विराटनगरमा ३ जना नक्कली परीक्षार्थी पक्राउ

आश्विन २१, २०८१ |सुशीला पाठक
विराटनगरमा ३ जना नक्कली परीक्षार्थी पक्राउ

मोरङ । विराटनगर महानगरपालिका-९ मेनरोडको एक घरमा बसेर परीक्षा लेख्दै गरेका ३ जना नक्कली परीक्षार्थीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने नक्कली परीक्षार्थीमा सप्तरी राजविराज-४ का २३ वर्षीय सन्तोष गुप्ता, सप्तरीका रामगञ्ज-४ का देवकृष्ण साह र सुनसरी बर्जु-५ चिमडीका २४ वर्षीय विक्लप चौधरी छन् ।

पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान थालिएको डीएसपी वेदप्रकाश जोशीले जानकारी दिनुभयो । महेन्द्र मोरङ क्याम्पसमा दुई जना विद्यार्थीहरु परीक्षा हलभित्र बसेका र उनीहरुले 'ह्वाट्सएप'मार्फत प्रश्नपत्र आउट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

उनीहरुले प्रश्नपत्र आउट गर्ने र नक्कली परीक्षार्थीले घरको कोठामा बसेर उत्तर लेखिदिने गरेको डीएसपी जोशीले जनाउनु भयो । पक्राउ परेकाहरुले डेरा लिएको कोठामा बसेर प्रश्नको उत्तर लेख्ने र पुनः कलेजमा लगेर दिने गरेको पाइएको छ । मोरङको रंगेली घर भई विराटनगर मेनरोडमा डेरा लिएर बसेका दीपक यादव महेन्द्र मोरङ क्याम्पसमा जारी परीक्षाको हलभित्र बसेका थिए । पक्राउ परेका तीन जनाले यादवको डेरामा बसेर उत्तर लेख्ने र उत्तरपुस्तिका क्याम्पससम्म पुर्‍याइदिने गरेको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको इन्स्पेक्टर राजेश दत्त नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । क्याम्पसमा बीबीएस र बीएड दोस्रो वर्षको ब्याक पेपरको परीक्षा चलिरहेको छ ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।