त्रिविमा नीतिगत सुधार नभई देशमा सुधार हुँदैन : उपकुलपति डा. बराल

आश्विन १, २०८१ |कान्तिपुर टीभी संवाददाता
त्रिविमा नीतिगत सुधार नभई देशमा सुधार हुँदैन : उपकुलपति डा. बराल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालले त्रिविमा नीतिगत सुधार नगरी देशको सुधार हुन नसक्ने बताउनुभएको छ । पद्‍मकन्या बहुमुखी क्याम्पसको ७४औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

सरकारले शिक्षा क्षेत्रमा आवश्यक बजेट छुट्याउन नसक्दा नयाँ कार्यक्रम अगाडि बढाउन कठिनाइ भएको उपकुलपति डा. बरालको भनाइ छ । सरकारले शिक्षामा लगानी गर्न नसक्ने हो भने सक्ने विद्यार्थीबाट शुल्क उठाउने र नसक्नेलाई निशुल्क शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

उपकुलपति डा. बरालले लामो समय सेवा गरेका प्राध्यापकहरु सेवाबाट अवकाश हुँदै जाने अनि सेवा आयोगबाट नयाँ नियुक्ति नहुँदा कतिपय कलेजहरु रित्तिने अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्नुभयो । यो अवस्थाबाट अघि बढ्नुपर्नेमा सेवा आयोगमा राजनीतिक भागबन्डा नमिल्दा नियुक्ति प्रक्रियामा ढिलाइ भएको प्रष्ट पार्नुभयो । आंशिक शिक्षकको समस्या समाधानका लागि एकमात्र विकल्प भनेको सेवा आयोगले विज्ञापन खुलाउने नै हो भन्दै उहाँले छिट्टै ७ सय नयाँ शिक्षकको विज्ञापन गरिने पनि जानकारी गराउनु भयो ।

उपकुलपति डा. बरालले बीपीएसजी, फेसन डिजाइन जस्ता नयाँ कार्यक्रम सुरू गरेकामा पद्मकन्यालाई धन्यवाद दिनुभयो । राणा शासन समाप्तिपछि महिला सशक्तिकरणका लागि छुट्टै कलेजको आवश्यकता महशुस गरेर स्थापना गरिएको पद्मकन्या क्याम्पसको फरक पहिचान र महत्व भएको उहाँको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement