उपकुलपति नियुक्तिमा किन विलम्ब ?

फाल्गुन ९, २०८० |कान्तिपुर टीभी संवाददाता
उपकुलपति नियुक्तिमा किन विलम्ब ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप रोक्न प्रतिस्पर्धाका आधारमा उपकुलपति नियुक्ति गर्ने वाचा गरेका थिए । सोहीअनुरुप प्रक्रिया अघि बढेर सिफारिस समितिले तीन जनाको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस पनि गरिसकेको छ । तर, प्रधानमन्त्रीकै अलमलले सिफारिस भएको तीन दिन हुँदासम्म पनि उपकुलपति नियुक्ति हुन सकेको छैन ।

शिक्षामन्त्री अशोककुमार राईको अध्यक्षतामा गठित सिफारिस समितिले उपकुलपतिका लागि चित्रबहादुर बुढाथोकी मगर, केशरजंग बराल र टंकनाथ धमलाको नाम आइतबार प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालसमक्ष सिफारिस गरेको थियो । पहिलोपटक खुला प्रतिस्पर्धाका आधारमा विज्ञसहितको समितिले अन्तर्वार्ता लिई बुढाथोकी मगरलाई ७८, बराललाई ७६ र धमलालाई ७५ नम्बरको अंकसहित सिफारिस गरिएको थियो ।

यसअघि अंक नराखी तीन उम्मेदवारको मात्र नाम सिफारिस गरेपछि तीमध्ये एक जनालाई उपकुलपति नियुक्ति गर्ने चलन थियो । तर, समितिले अंकसहितको नाम सिफारिस गरेपछि प्रधानमन्त्री अप्ठ्यारोमा परेको जनाइएको छ ।

सिफारिस गरिएका बुढाथोकी र बराल माओवादीनिकट मानिन्छन् । प्रधानमन्त्री कार्यालयका अधिकारीहरुका अनुसार एक नम्बरमा बुढाथोकी सिफारिस भए पनि प्रधानमन्त्री खासमा दोस्रो नम्बरका बराललाई नियुक्त गर्न चाहन्छन् ।

प्रधानमन्त्री दाहालले सिफारिस भएको भोलिपल्टै उपकुलपति कसलाई बनाउने भन्ने विषयमा माओवादी नेताहरुसँग छलफल गरेका थिए । उक्त छलफलमा पनि नेताहरुले प्रधानमन्त्रीलाई पहिलेको वाचा सम्झाउँदै सिफारिस समितिको सिफारिसअनुसारै नियुक्त गर्न दबाब दिएका थिए ।

त्रिभुवन विश्वविद्यालय कात्तिक १७ गतेदेखि निमित उपकुलपतिको भरमा चलिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.