त्रिविको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

पुस २०, २०८० |कान्तिपुर टीभी संवाददाता
त्रिविको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले दरखास्त मागेको छ ।

आज एक सूचना जारी गर्दै समितिले त्रिभुवन विश्वविद्यालयको रिक्त रहेको उपकुलपति नियुक्ति गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको हो । उक्त पदका लागि सूचना प्रथमपटक प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा दरखास्त दिन सकिनेछ ।

त्रिविको उपकुलपतिमा दरखास्त दिनका लागि उम्मेदवारले स्नातकोत्तर र विद्यावारिधि तहको शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । यस्तै विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको बेहोरा खुलेको विवरण तथा प्रमाणित प्रतिलिपिसमेत दरखास्तका साथ बुझाउनु पर्नेछ ।

राजनीतिक भागबन्डा नमिलेकै कारण त्रिभुवन विश्वविद्यालय दुई महिनादेखि उपकुलपतिविहीन छ । त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब योग्यताको आधारमा उपकुलपतिको नियुक्ति गर्ने प्रतिबद्धता जनाएका थिए ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले उपकुलपति पदका लागि दरखास्त दिन विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको अनुभव मागेकाले फेरी पनि राजनीतिक भागबन्डाकै चपेटमा त्रिविको उपकुलपति पर्ने देखिन्छ ।

उपकुलपति नियुक्तिका लागि सिफारिस गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको संयोजकत्वमा समिति गठन भएको थियो ।

कात्तिक १६ गते धर्मकान्त बास्कोटाको पदावधि सकिएपछि अहिले विश्वविद्यालयका शिक्षाध्यक्ष शिवलाल भुसाललाई ३ महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.