त्रिविमा बेथिति : कार्यकाल सकिँनै लाग्दा आंगिक क्याम्पसलाई नयाँ कार्यक्रम सञ्चालनको अनुमति

विद्यार्थीलाई स्वदेशमै रोक्न उपाय खोजिएको त्रिविको दाबी
आश्विन ३०, २०८० |नारायण किलम्बू
त्रिविमा बेथिति : कार्यकाल सकिँनै लाग्दा आंगिक क्याम्पसलाई नयाँ कार्यक्रम सञ्चालनको अनुमति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पसहरुलाई नयाँ कार्यक्रम सञ्चालनका लागि अनुमति दिएको छ । विश्वविद्यालयका उपकुलपतिसहित पदाधिकारीको समयावधि सकिनै लाग्दा कार्यकारी परिषद्ले विभिन्न क्याम्पसलाई बजारमा माग भएका नयाँ विषय सञ्चालन अनुमति दिएको हो ।

२०२४ सालमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण केन्द्रका रुपमा स्थापना भई शिक्षाशास्त्र संकायका विषयमात्र अध्ययन अध्यापन भइरहेको भक्तपुरको सानोठिमी क्याम्पसमा अबदेखि व्यवस्थापन र विज्ञान प्रविधि विषयको पनि पढाइ सुरु हुने भएको छ ।

विद्यार्थीको संख्या घटेर क्याम्पस नै संकटमा परेपछि विश्वविद्यालयले यसै वर्षदेखि बीबीएस र अर्को वर्षदेखि बीबीए, बीएससी, बीएससी सीएसआईटीलगायत विषय सञ्चालनका लागि अनुमति दिएको हो ।

‘व्यवस्थापनतर्फको बीबीएस चलाउन र बीएससी सीएसआईटी साइन्सतर्फ कम्प्युटर विषय चलाउनका लागि अनुमति दिने भन्ने किसिमको निर्णय भयो भन्ने समाचार सुन्नमा आएको छ । अब भयो भने हामी यसै वर्षदेखि ती विषयहरुमा पनि भर्ना गर्छौं,’ सानोठिमी क्याम्पस प्रमुख प्राध्यापक जगतकृष्ण पोखरेलले भने, ‘शिक्षा संकाय मात्रै चलाउँदा विद्यार्थीको संख्या अति न्यून भयो ।’

सानोठिमी क्याम्पससँगै अन्य दर्जनौं आंगिक क्याम्पसलाई पनि विश्वविद्यालयले नयाँ विषय सञ्चालनका लागि अनुमति दिएको छ । त्रिविका ६२ आंगिक क्याम्पसमध्ये कति वटालाई यसरी अनुमति दिइएको हो भन्नेचाहिँ सार्वजनिक गरिएको छैन ।

बजारमा बढ्दो माग भएका आईटी, बीएससी-सीएसआईटी, बीबीए, बीबीएस, बीआईएमलगायत विषय फरक-फरक क्याम्पसलाई सञ्चालनका लागि अनुमति दिइएको विश्वविद्यालयको दाबी छ ।

‘नयाँ प्रोग्रामहरु यसमा मुख्यत: आईटीका प्रोग्रामहरु र अर्को सेल्फ सस्टेन प्रोग्राम भन्छन् जहाँ बजारले बढी माग गरेका प्रोग्रामहरु करिब १२ वटा आंगिक क्याम्पसहरुमा थपिएको अवस्था छ,’ त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको भनाइ छ ।

विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता भएका क्यूएए प्राप्त पब्लिक क्याम्पसहरुलाई पनि आवश्यकता र माग अनुसार नयाँ विषय सञ्चालनका लागि अनुमति दिने त्रिविको तयारी छ । स्मरणीय कुरा त के छ भने त्रिविका उपकुलपतिको पदावधि दुई साता बाँकी छ भने अन्य पदाधिकारीको पनि तीन महिनापछि सकिनेछ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।