सूचना प्रविधि र इन्जिनियरिङ जस्ता प्राविधिक विषयमा नेपाली विद्यार्थीको आकर्षण

जेष्ठ १३, २०८० |नारायण किलम्बू
सूचना प्रविधि र इन्जिनियरिङ जस्ता प्राविधिक विषयमा नेपाली विद्यार्थीको आकर्षण

काठमाडौं । सूचना प्रविधि र इन्जिनियरिङ जस्ता प्राविधिक विषयमा नेपाली विद्यार्थीको आकर्षण बढेको छ । मुलुकभित्रै र विश्वबजारमा सजिलै रोजगारी पाउने भएपछि उच्चशिक्षामा यस्ता विषयप्रतिको आकर्षण बढेको हो ।

कक्षा १२ को परीक्षा दिएर इन्जिनियर बन्ने लक्ष्यसहित काठमाडौं आएकी विराटनगरकी इन्युश्री राई तयारी कक्षामा लागेकी छन् । विश्वविद्यालयले लिने प्रवेश परीक्षा राम्रो अंकका साथ उत्तिर्ण गर्न उनी तयारी कक्षा लिन थालेकी हुन् । राई जस्ता धेरै विद्यार्थी सूचना प्रविधि विज्ञ र इन्जिनियर बन्न काठमाडौंका विभिन्न शिक्षण संस्थामा तयारी कक्षा लिन भौंतारिरहेका छन् । कक्षा १२ को परीक्षा सकेर बसेका ४ लाख ६९ हजार विद्यार्थी मध्ये धेरैको चाहना यस्तै प्राविधिक विषय अध्ययन गर्ने देखिएको छ ।

त्रिभुवन, काठमाडौं, पूर्वाञ्चल, पोखरा, मध्यपश्चिम, सुदूरपश्चिम र मनमोहन प्राविधिक विश्वविद्यालयअन्तर्गत ५० भन्दा बढी इन्जिनियरिङ कलेजमा सूचना प्रविधि र इन्जिनियरिङ विषयको अध्ययन हुन्छ । यी शिक्षण संस्थामा सिट संख्याभन्दा बढी विद्यार्थीले प्रवेश परीक्षा दिने गरेका छन् । इन्जिनियरिङमा उच्चशिक्षा हासिल गरेपछि सजिलै रोजगारीका अवसर पाउने मात्र होइन प्रतिष्ठित पेसासमेत भएकाले विद्यार्थीको आकर्षण बढेको क्याम्पस सञ्चालक बताउँछन् ।

इन्जिनियरिङ शिक्षालाई देश विकासको मेरुदण्डका रुपमा लिइन्छ । सूचना प्रविधिको द्रुत विकाससँगै मुलुकको विकासका लागि अत्यावश्यक जनशक्ति भएकाले पनि विद्यार्थी यस्तो शिक्षामा आकर्षित भएका हुन् ।

इन्जिनियरिङ शिक्षामा विद्यार्थीको चाप बढेपछि सरकारले थप तीनवटा क्याम्पस स्थापना गर्ने तयारी गरेको छ । सूचना प्रविधि र इन्जिनियरिङमा विद्यार्थीको पहुँच बढाउन मात्रै नभएर गुणस्तरमा पनि उतिकै ध्यान दिनु जरुरी छ । 


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement