राष्ट्रियस्तरका थुप्रै नेता उत्पादन गरेको रामस्वरुप क्याम्पसको साख खस्किँदै (भिडियो रिपोर्ट)

चैत्र ३, २०७९ |अनिल मिश्र
राष्ट्रियस्तरका थुप्रै नेता उत्पादन गरेको रामस्वरुप क्याम्पसको साख खस्किँदै (भिडियो रिपोर्ट)

जनकपुर । लामो समयपछि हुन लागेको स्ववियु निर्वाचनका कारण त्रिभुवन विश्वविद्यालय अन्तर्गतका देशै भरिका आंगिक क्याम्पसहरुमा चहलपहल छ । त्यसै मध्येको एक जनकपुरस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पस पनि हो । राजनीतिक खिचातानी र कमजोर व्यवस्थापनका कारण पछिल्लो समय खुलेका निजी कलेजसँगको प्रतिस्पर्धामा यो क्याम्पस पछि परेको छ ।

२०१४ सालमा स्थापना भएको यस क्याम्पसमा स्ववियु निर्वाचनका कारण अहिले विद्यार्थीको भिडभाड देखिन्छ । सभापतिलगायत २१ पदका लागि विभिन्न संगठनबाट ८८ जना प्रतिस्पर्धामा छन् । तर क्याम्पसको पढाइको स्तर भने खस्कँदै गएको छ । क्याम्पसमा ७ हजारभन्दा बढी विद्यार्थी भर्ना भएपनि १५ सय पनि नियमित क्याम्पस आउँदैनन् ।

यहाँका भौतिक संरचना पनि जीर्ण छ । शौचालय र खानेपानीको उचित व्यवस्था छैन । अध्ययन अध्यापनमा ख्याति कमाएको यो क्याम्पस बढ्दो राजनीतिकरण र असफल व्यवस्थापनका कारण अहिले चिट चोरीका लागि बदनाम छ । कुनै बेला २ सय ५० भन्दा बढी शिक्षक कार्यरत रहने यस क्याम्पसमा हाल ८० जनामा सीमित छ ।

रामस्वरूप रामसागर बहुमुखी क्याम्पसले आफ्नो गौरवपूर्ण इतिहासमा दक्ष जनशक्ति मात्रै उत्पादन गरेन, थुप्रै नेताहरू पनि जन्मायो । पूर्वराष्ट्रपति डा. रामवरण यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलगायत केन्द्रीय राजनीतिमा पहिचान बनाएका थुप्रै नेता यही क्याम्पसका उत्पादन हुन् । मधेस प्रदेशका पूर्व आन्तरिक मामिला मन्त्री र बहालवाला शिक्षा मन्त्री पनि यसै क्याम्पसका पूर्व स्ववियु सभापति हुन् ।

बेथितिले घेरिएको त्रिभुवन विश्वविद्यालयको उपेक्षाको मारमा यो क्याम्पस पनि परेको छ । शिक्षा सम्बन्धी अधिकार आफू मातहत नरहेकाले क्याम्पसको अवस्था सुधारमा हस्तक्षेप गर्न नसकिएको प्रदेश सरकारको भनाइ छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।