आगामी शैक्षिक सत्रमा पनि समयमै पाठ्यपुस्तक नपुग्ने

माघ २०, २०७९ |नारायण किलम्बू
आगामी शैक्षिक सत्रमा पनि समयमै पाठ्यपुस्तक नपुग्ने

काठमाडौं । सरकारले कक्षा १ देखि ५ सम्मको पुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिए पनि आगामी शैक्षिक सत्रमा पाठ्यपुस्तक अभाव हुने देखिएको छ । 

पाठ्यक्रम विकास केन्द्रले अहिलेसम्म कुन निजी छापाखानालाई कति पुस्तक छाप्न दिने भनेर निर्णय गरिसकेको छैन । शैक्षिक सत्र सुरु हुन २ महिना मात्र बाँकी रहेको अवस्थामा अब  निजी क्षेत्रले पुस्तक छापेर विद्यार्थीको हातमा पुस्तक पुर्‍याउन नसक्ने देखिएको छ ।

वैशाख १ देखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका २४ लाख १४ हजार विद्यार्थीका लागि १ करोड २४ लाख थान पाठ्यपुस्तक आवश्यक पर्छ । ती पुस्तक छपाइको जिम्मा सरकारले निजी क्षेत्रलाई दिने निर्णय गरिसकेको छ । तर पाठ्यक्रम विकास केन्द्र छापाखाना छनोटको प्रक्रियामै अलमलिएको छ । 

कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई (भिडियो रिपोर्ट)

पाठ्यपुस्तक अभाव हुन नदिन अघिल्लो वर्ष सरकारले १ देखि ३ कक्षासम्मको पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिने निर्णय गरेको थियो । तर कुनै पनि संस्थाले रुचि देखाएनन् । तै पनि शिक्षा मन्त्रालयको आग्रहमा १० वटा निजी संस्था पुस्तक छपाइका लागि सूचीकृत भएका थिए । यिनीहरूको कूल पुस्तक छपाई क्षमता दैनिक करिब १ लाख ५० हजार थान मात्र छ । 

संस्था छनोट गरेको २० दिनमा मात्र उनीहरूले कागजको बन्दोबस्त गरी छपाई अगाडि बढाउन सक्छन् । यो हिसाबले वैशाख १ सम्म विद्यार्थीका लागि आवश्यक पुस्तक छपाई गरी विक्री वितरण गर्न नसकिने निजी क्षेत्रको भनाइ छ । 

पाठ्यपुस्तक ढिलाइकै कारण विद्यार्थीको पठन पाठन,  परीक्षादेखि सिकाइ उपलब्धिमा समेत गम्भीर प्रभाव परेको छ । विद्यार्थीको भविष्यमाथि खेलबाड गरी पुस्तक छपाइमा ढिलाइ गर्नेमाथि कारबाही गर्नुपर्ने माग अभिभावकको छ । 

कक्षा ६ देखि १२ सम्मका २५ लाख विद्यार्थीका लागि १ करोड ४० लाख थान पुस्तक छाप्ने जिम्मा भने जनक शिक्षा सामग्री केन्द्रलाई छ । उसले पनि अहिलेसम्म ४० लाख थान पाठ्यपुस्तक मात्र छापेको छ । संसदीय  समिति र शिक्षामन्त्रीले नयाँ शैक्षिक सत्रको सुरुमै विद्यार्थीको हातमा पुस्तक पुर्‍याउने दाबी गरे पनि यो हिसाबले निजी क्षेत्रलाई पुस्तक छपाइको जिम्मा दिए पनि पुस्तक अभाव कायमै रहने देखिएको छ ।

यो पनि...

नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेनन्


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।