सुदूरपश्चिममा टोल शिक्षा कार्यक्रम प्रभावकारी बन्दै (भिडियो रिपोर्ट)

माघ १९, २०७९ |हरिश्चन्द्र बाग
सुदूरपश्चिममा टोल शिक्षा कार्यक्रम प्रभावकारी बन्दै (भिडियो रिपोर्ट)

कञ्चनपुर । सुदूरपश्चिमका हजारौं नागरिक मौसमी कामको खोजीमा भारत जाने गर्छन् । सक्रिय उमेर समूहका नागरिक काम खोज्दै सपरिवार भारत पस्दा बालबालिकाको पढाइमा अवरोध हुने गरेको छ । तर अचेल केही ठाउँमा अतिरिक्त कक्षाका रूपमा टोल शिक्षा कार्यक्रम लागू भएसँगै बालबालिकाले अध्ययनलाई निरन्तरता दिन सकेका छन् ।

कञ्चनपुर, कैलाली, बैतडी र अछाम गरी चार जिल्लाका दशवटा पालिकामा एक वर्षअघिदेखि टोल शिक्षा कार्यक्रम सञ्चालनमा छ । यो कार्यक्रम ती क्षेत्रका विद्यालयमा अध्ययनरत तीन कक्षासम्मका बालबालिकालाई लक्षित गरी लागू गरिएको हो ।

अतिरिक्त समय व्यवस्थापन गरी पठनपाठन गराउन प्रत्येक टोलमा एक-एक जना टोल शिक्षकका साथै स्पिकर र ट्याबसमेत उपलब्ध गराइएको छ । त्यस्तै तीन कक्षासम्मका विद्यार्थीलाई शैक्षिक सामग्रीसहितको झोला र कक्षा ४ देखि ८ सम्मका विद्यार्थीलाई बाल कथा सङ्ग्रहसमेत उपलब्ध गराइएको छ । अभिभावकहरूकै निगरानीमा टोल कक्षा सञ्चालन गरिएकोले त्यसको प्रभावकारिता धेरै देखिएको छ ।

ग्रामीण क्षेत्रका अभिभावकहरू प्रायजसो कामका लागि घरबाहिर रहने यथार्थका बीच टोल शिक्षा कार्यक्रम उपलब्धिमूलक हुने देखिएको छ । विद्यालयमा गरिने पठनपाठनलाई समेत यसले सहयोग गरेको छ । टोल कक्षाबाट बालबालिकामा सामूहिक भावनाको विकास, सिकाइप्रतिको रुचि वृद्धि र बालबालिकालाई अभिभावकले घरमा गराउन नसकेका क्रियाकलापसमेत टोल कक्षामार्फत गराउने प्रयास गरिन्छ ।

हुन त यो अवधारणा कोभिडको समयमा कोभिड रोकथामका लागि विद्यालयहरूमा क्वारेनटाइन राखिएको र पछि पुनः विद्यालयमा नियमित पठनपाठन गराउन कठिन परिस्थिति रहेको समयमा आएको हो । तर यो कामका लागि भारत जानुपर्ने बाध्यता भएका र घरमा आफ्ना बालबालिकालाई पढाइसँगै सम्बन्धित गतिविधिमा पर्याप्त समय दिन नसक्ने अभिभावकलाई धेरै उपयोगी साबित भएको छ ।

परियोजनाको समयावधि सकिएपछि पनि स्थानीय तहहरूले यो कार्यक्रमलाई निरन्तरता दिन सके बालबालिकाको सिकाइ उपलब्धी बढ्ने र बीचैमा विद्यालय छाड्ने दर कम हुने आशा राख्न सकिन्छ ।  


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।