यसकारण घट्दै छ विद्यालय शिक्षाको गुणस्तर (भिडियो रिपोर्ट)

माघ १८, २०७९ |नारायण किलम्बू
यसकारण घट्दै छ विद्यालय शिक्षाको गुणस्तर (भिडियो रिपोर्ट)

काठमाडौं । विद्यालय शिक्षाको गुणस्तर झन् झन् खस्कँदै गएको छ । शिक्षा मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले कक्षा ८ का ७० प्रतिशत विद्यार्थीले न्यूनतम सिकाइ उपलब्धि नै हासिल गर्न नसकेको देखाएको छ । यसले विद्यालय शिक्षामा सरकारले गरेको लगानीमाथि नै प्रश्न उठेको छ ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सातै प्रदेशका १८ सय विद्यालयमा कक्षा ८ का ४३ हजार पाँच सय विद्यार्थीको न्यूनतम सिकाइ उपलब्धि अध्ययन गरेको थियो । जसअनुसार गणित, विज्ञान, नेपाली र अंग्रेजी विषयमा सिकाइ उपलब्धि झन् खस्किएको देखाएको छ ।

यसमध्ये गणितमा ३२, विज्ञानमा ३८, नेपालीमा ५९ र अंग्रेजीमा ५२ प्रतिशत विद्यार्थीले मात्र न्यूनतम सिकाइ उपलब्धि हासिल गरेका छन् । जबकि सन् २०१७ मा गणितमा ४६ र विज्ञानमा ४४ प्रतिशत थियो । शिक्षा सुधारका लागि दातृ निकायले समेत लगानी बढाउँदै लगेको अवस्थामा गणित र विज्ञानमा विद्यार्थीको सिकाइ उपलव्धी झन् खस्किएको देखिएको छ ।

प्रदेशगत हिसाबले मधेस, सुदूरपश्चिम र कर्णालीका विद्यार्थीको सिकाइ उपलब्धि झन् कमजोर देखिएको छ । सामान्यत: विद्यार्थीको औसत सिकाइ उपलब्धि ५० देखि ६० प्रतिशत हुनुपर्ने हो । तर समग्र ७० प्रतिशत विद्यार्थीले न्यूनतम सिकाइ उपलब्धि पनि हासिल हुन नसक्नु गम्भीर विषय भएको शिक्षामन्त्री शिशिर खनालकै स्वीकारोक्ति छ । जसले गर्दा सरकारले शिक्षामा गरेको लगानीअनुसारको प्रतिफल हासिल हुन सकिरहेको छैन ।

जुन विद्यालयको कक्षाकोठामा शिक्षकको नियमित उपस्थिति हुन्छ, उनीहरुको सिकाइ उपलब्धि राम्रो भएको अध्ययनले देखाएको छ । अझ सूचना प्रविधिको पहुँचले त विद्यार्थीमा सुधार भएको देखिएको छ । एकातिर गणित र विज्ञानमा विषयगत शिक्षकको अभाव, अर्कोतिर भएका शिक्षक पनि राजनीतिक गतिविधिमा केन्द्रित हुँदा पनि सिकाइ उपलब्धि झन् खस्किँदै गएको सरोकारवालाको भनाइ छ ।

विद्यालय शिक्षाको जिम्मा पाएको स्थानीय तहले पनि शिक्षकलाई पेसाप्रति प्रतिबद्ध बनाउन र उत्प्रेरित गराउन सके खस्कँदै गएको शिक्षा र विद्यार्थी सिकाइ उपलब्धि सुधार गर्न सकिन्छ । 


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।