कालिका क्याम्पसको लोभलाग्दो प्रगति, शैक्षिक गुणस्तरमा लुम्बिनी प्रदेशकै उत्कृष्ट (भिडियो रिपोर्ट)

माघ १६, २०७९ |अमृता अनमोल
कालिका क्याम्पसको लोभलाग्दो प्रगति, शैक्षिक गुणस्तरमा लुम्बिनी प्रदेशकै उत्कृष्ट (भिडियो रिपोर्ट)

बुटवल । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसहरूमा कान्छोमध्येको एक हो बुटवलको कालिका ‘क्याम्पस’ ।

२०७० सालमा कालिका माविको भवन मागेर स्नातक तहको कक्षा शुरू गरेको यो क्याम्पस स्थापनाको ९ वर्षमै शैक्षिक र भौतिक रूपमा लुम्बिनी प्रदेशकै उत्कृष्ट बन्न पुगेको छ ।

२०७० मा ३५ जना विद्यार्थीबाट बीबीएस कक्षा सञ्चालन गरेको बुटवलको कालिका क्याम्पसमा हाल ३ हजार विद्यार्थी छन् । बीबीएस, बीसीए र बीएड पढाइ हुने यो क्याम्पसको विद्यार्थी उत्तीर्ण प्रतिशत पनि लोभ लाग्दो छ । प्रयोगात्मक अभ्यास, विद्यार्थी केन्द्रित सिकाइ पद्धति र पारिवारिक वातावरणले घुलमिल हुन र पढ्न रुचि जाग्ने विद्यार्थीहरु बताउँछन् ।

उत्कृष्ट नतिजा दिन थालेपछि ५० प्रतिशत बढी विद्यार्थी बाहिरी जिल्ला र प्रदेशबाट आएका छन् । क्याम्पसले प्रयोगात्मक र व्यवहारिक सिकाइमा जोड दिएको दाबी गरेको छ । फलतः बिहान क्याम्पस पढ्ने र दिउँसो पढाइअनुसारको काम गर्ने वा आफैँले व्यवसाय गर्ने विद्यार्थीसमेत बढेका छन्।

क्याम्पसले बीबीएसका विद्यार्थीलाई कम्प्यूटर र लेखासम्बन्धी अतिरिक्त तालिम दिन्छ । बीसीएलाई त्रिभुवन विश्वविद्यालयले दिएका ४८ वटा विषयसँगै आफैँले डिजाईन गरेका थप ८ वटा कोर्स पनि पढाउँछ ।

इन्टर्नसिपका लागि झण्डै एकसय बैंक, सीए कम्पनी र उद्योग व्यवसायीसँग सम्झौता गरेर पठाउने गरेको छ । २०७७ सालसम्म कालिका माविको भवनमा सञ्चालन भएको कालिका क्याम्पसको हाल १० कठ्ठा क्षेत्रफलमा आफ्नै ६० कोठे आधुनिक भवन छ ।

५० करोड बढी लगानीमा सुविधासम्पन्न भौतिक पूर्वाधार निर्माण, पुस्तकालय, उपकरण, सवारी साधनलगायत जोडिएको छ । शैक्षिक र भौतिक रुपमा अब्बल बनेको क्याम्पसले अब बीएस्सीअन्तर्गत सीएसआईटी, बीबीए र एमबीएसका कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । 


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।