विद्यार्थी आकर्षित गर्न साइकल वितरण

माघ १३, २०७९ |गणेशमान मुखिया
विद्यार्थी आकर्षित गर्न साइकल वितरण

झापा । झापा जिल्लाको झापा गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा ९ का सम्पूर्ण विद्यार्थीलाई साइकल वितरण गरेको छ । कक्षा ८ पास गरेका विद्यार्थी कक्षा ९ मा ड्रप आउट रोक्न साइकल वितरण गरिएको हो । गत वर्षसम्म छात्रालाई मात्र उपलब्ध गराइएकामा यस आर्थिक वर्षबाट छात्राछात्र दुवैलाई साइकल वितरण गरिएको हो ।

झापामा हल्दीवारी गाउँपालिका र झापा गाउँपालिकाले सामुदायिकतर्फ माध्यमिक तहसम्मको पठनपाठन नि:शुल्क गरेका छन् । त्यति सुविधा दिदा समेत कक्षा ९ मा विद्यार्थी ड्रप आउटको प्रतिशत बढ्न थाल्यो । विद्यार्थी ड्रपआउट रोक्न झापा गाउँपालिकाले ५ वटा विद्यालयका कक्षा ९ का ४ सय ६० विद्यार्थीलाई साइकल वितरण गरेको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको भनाइ छ ।

२०७६ सालबाट साइकल वितरण गरिए पनि छात्रालाई मात्र उपलब्ध थियो । यस वर्षबाट गाउँपालिकाले छात्राछात्र दुवैलाई साइकल वितरण गरेपछि कक्षा ९ मा शतप्रतिशत विद्यार्थी भर्ना भएका छन् । साइकल र नि:शुल्क शिक्षाले कम्तीमा कक्षा १२ सम्म विद्यार्थीले अध्ययन गर्ने वातावरण बनेको डिल्लीराज मावि, झापाका प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्ताको भनाइ छ ।

झापा गाउँपालिकामा ७ वटा वडा छन् । माध्यमिक विद्यालय पाँचवटा छन् । धेरै विद्यार्थी डेढ घण्टासम्म हिँडेर विद्यालय जानुपर्ने अवस्था छ । निम्न आय भएका र टाढाबाट विद्यालय जाने विद्यार्थी साइकल पाएपछि खुसी भएको डिल्लीराज माविमा कक्षा ९ मा अध्ययनरत कुशल तिवारी बताउँछन् ।

साइकल खरिदमा ३४ लाख रुपैयाँ खर्च भएको छ । कक्षा १२ सम्मका लागि पालिकाले एक करोड रुपैयाँ विनियोजन गरेको छ ।


Image

गणेशमान मुखिया

मुखिया कान्तिपुर टेलिभिजनका झापा संवाददाता हुन् ।